
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय कार्यालय अन्यत्र सार्ने भएको छ । पार्टीले कार्यालय अन्यत्र सार्नुपर्ने आवश्यकता महसुस गर्दै जमिन घर किन्न काठमाडौं उपत्यकाको पायक पर्ने स्थानमा खोजी गर्न शुभेच्छुकहरुलाई अनुरोध गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले पार्टी कार्यालय सार्नको लागि उपयुक्त ठाउँको खोजी गर्ने निर्णय गरेको हो । पार्टी स्थापनको समयमा रास्वपाको पार्टी कार्यालय बसुन्धरामा थियो । पछि पार्टी कार्यालय वनस्थली सारिएको थियो । हाल रास्वपाको केन्द्रीय पार्टी कार्यालय वनस्थलीस्थित चौमतिमा छ ।
त्यस्तै प्रवक्ता खरेलका अनुसार स्थानीय तहको निर्वाचनको केन्द्रीय उम्मेदवार छनोट समितिको संयोजकमा महामन्त्री विपिन कुमार आचार्य रहेका छन् । समिति सदस्यहरुमा मिलन लिम्बु, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, टासी ल्हाजोम र जनकसिंह धामी मनोनित भएका हुन् ।
उक्त समितिमा सातै प्रदेशका सभापति पदेन सदस्य रहने व्यवस्था गरिएको छ । प्रवक्ता खरेलले अन्य सदस्य नियुक्त हुन बाँकी रहेको जानकारी दिए ।पार्टीको प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा मनोनित भएका छन् । पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले झालाई प्रवास सम्पर्क विभागको नेतृत्व दिएको प्रवक्ता जगदिश खरेलले जानकारी दिए ।
त्यस्तै पार्टीको आर्थिक व्यवस्थापन विभाग प्रमुखमा डा. मनोहर प्रधान मनोनित भएका छन् । पार्टीले १४ ओटा विभागमा प्रमुख, २ विभागमा उपप्रमुख र १ विभागमा सदस्य मनोनयन गरेको हो । कानुनी मामिला तथा संस्थागत अनुपालन विभाग प्रमुखमा मोहनलाल आचार्य नियुक्त भएका छन् ।
सामाजिक न्याय लैङ्गिक समानता तथा समावेशिता विभागको प्रमुखमा रुविना आचार्य, सुशासन तथा राज्य व्यवस्था विभाग प्रमुखमा सुदिप ढकाल, विधायन संसदीय मामिला तथा न्याय प्रणाली विभाग प्रमुखमा सुलभ खरेल, कृषि भूमि तथा सहकारी व्यवस्था विभाग प्रमुखमा ज्ञानेन्द्र महता, श्रम रोजगारी तथा सामाजिक सुरक्षा विभाग प्रमुखमा दीपक कुमार साह महोत्तरी, आपूर्ति बजार सुशासन तथा उपभोक्ता अधिकार विभागमा शर्मिला खनाल, विज्ञान सूचना प्रविधि नवप्रवर्तन तथा स्टार्टअप विभाग प्रमुखमा आनन्द बहादुर चन्द संस्कृति पर्यटन तथा राष्ट्रिय सम्पदा विभाग प्रमुखमा धनञ्जय रेग्मी र सदस्यमा सम्राट बुढाथोकी, वातावरण जलवायु तथा प्राकृतिक स्रोत विभाग प्रमुखमा धर्म केसी र सामाजिक न्याय तथा समता प्रवद्र्धन विभाग प्रमुखमा रिमा विश्वकर्मा मनोनित भएका छन् ।
त्यस्तै अभियान तथा प्रचारप्रसार विभाग उपप्रमुखमा आनन्द मिश्र र अर्थ विभाग उपप्रमुखमा डिल्लीश्वर कार्की (रोहन) मनोनित भएका छन् ।
