
पोखरा । नेपाल-चीन जोड्ने मुस्ताङको कोरला नाका करिब ९ दिनपछि खुलेको भए पनि नाकाबाट सामान बोकेर आएका गाडीहरू गन्तव्यसम्म पुग्न सकेका छैनन्।
म्याग्दीको सडक बाढीपहिरोका कारण अवरुद्ध हुँदा भन्सार जाँचपास भइसकेका करिब ४ सय मालबाहक कन्टेनर बाटोमै रोकिएका छन्।
असोज ११ को हिमपात तथा त्यसपछि आएको बाढीपहिरोले घाँसा-म्याग्दीको सहस्रधारा-बेनी सडकखण्डमा क्षति पुर्याएको छ। कोरला-जोमसोमसम्मको बाटो भने सहज रहेको बताइएको छ।
यसबाट विशेषगरी दसैँ र जाडोलक्षित कपडा, खाद्यान्न, कच्चा पदार्थ तथा फलफूलको ढुवानी प्रभावित भएको छ।
रसुवा नाका अवरुद्ध भएपछि कोरला नाकाबाट ल्याइएका स्याउ, आँपलगायत फलफूल कन्टेनरमै कुहिन थालेका छन्।
सडक विभागले म्याग्दीको कुइनेटा–पोखरेबगरको करिब १० किलोमिटर सडक असोज २६ गतेभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।
