
काठमाडौं : २०८१ असोज १० गतेदेखि सुरु भएको अविरल वर्षाको कारण नेपालका विभिन्न जिल्लाहरूमा भएको घटनाको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालबाट १ हजार ६ सय ३० जना जनशक्ति परिचालन भएको छ।
वर्षासँगै आएको बाढी, पहिरो र डुवानमा परी हालसम्म ११ जना बेपत्ता, १० जनाको मृत्यु, १ सय ६२ स्थानहरूमा भौतिक क्षति भएको छ भने सुरक्षा फौजले ७ सय ६० जनाको सकुशल उद्धार गर्न सफल भएका छन्।
पाँचथर जिल्लाको विभिन्न ठाउँहरूमा २ जनाको मृत्यु, १ ठाउँमा भौतिक क्षति भएको छ भने सो स्थानमा उद्धारको लागि १० जना सुरक्षा फौज खटिएको छ। यसैगरी ओखलढुङ्गामा पनि एक स्थानमा भौतिक क्षति भएको छ।
धनकुटा जिल्लामा पहिरोको कारण २ जना बेपत्ता, २ जनाको मृत्यु र एक स्थानमा भौतिक क्षति भएको छ भने उद्धारका लागि १३ जनाको सुरक्षा फौज खटिएको छ। यसैगरी झापा जिल्लाका विभिन्न ठाउँमा डुवानमा परी ७७ स्थानहरूमा भौतिक क्षति, १ जनाको मृत्यु भएको छ भने ४३ जनाको सुरक्षा फौजले ३ सय २५ जनाकोे सकुशल उद्धार गरेका छन्।
मोरङका विभिन्न ठाउँहरूमा डुवानमा परि ५८ स्थानहरूमा भौतिक क्षति भएको छ भने २३ जनाको सुरक्षा फौजले १ सय ७६ जनाको सकुशल उद्धार गरेका छन्। यसैगरी रौतहटका १० स्थाहरूमा डुवानमा परी भौतिक क्षति भएको छ भने उद्धारका लागि १५ जना सुरक्षा फौज परिचालन भएको छ।
धादिङमा खोलाले बगाई एक जना बेपत्ता, एक जनाको मृत्यु भएको छ भने २ जनाको सकुशल उद्धार गरिएको छ। यसैगरी गोरखामा उद्धारका लागि २५ जना सुरक्षा टोली परिचालन भएको छ।
सिन्धुली जिल्लामा आएको बाढीले ५ स्थानहरूमा भौतिक क्षति भएको छ भने ११ जनाको सुरक्षा फौज परिचालन भई ३३ जनाको सकुशल उद्धार गरेको छ। यसैगरी काभ्रे जिल्लामा आएको पहिरोमा परि ३ जनाको मृत्यु, ७ स्थानहरूमा भौतिक क्षति भएको छ उद्धारका लागि १५ जनाको सुरक्षा फौज परिचालन भएका छन्।
यसैगरी काठमाडौं जिल्लाका विभिन्न स्थानहरूमा आएको बाढीका कारण एक जनाको मृत्यु, एक जना बेपत्ता भएका छन् भने १ हजार ४ चार ७४ जना सुरक्षा फौज परिचालन भई २ सय २४ जनाको सकुशल उद्धार गरेका छन्। यसैगरी ललितपुर जिल्लाका विभिन्न ठाउँहरूमा आएको पहिरोले १ जनाको मृत्यु, ६ जना बेपत्ता भएका छन् भने २ स्थानहरूमा भौतिक क्षति भएको छ। उपत्यकाको ३ वटै जिल्लामा मोटरबोटसहितको सशस्त्र प्रहरी बल नेपालको टोली परिचालित छ।
