बाढीपहिरो अपडेट: ७६ जनाको मृत्यु, ७२ बेपत्ता, ३६ घाइते

288
0
Share:

काठमाडौँ। अविरल बर्षासँगैको बाढी पहिरोमा मृत्यु हुनेको संख्या ७६ जना पुगेको छ भने ७२ जना बेपत्ता र ३६ जना घाइते भएका छन् ।

सशस्त्र प्रहरीका अनुसार शनिबार राति देशभर १ सय ९५ ठाउँमा भौतिक क्षति भएको छ।

उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्लामा २३ वटा बोट र गोताखोरसहित ९० स्थानमा करीब ४ हजार जनशक्ति परिचालित भई १ हजार ४ सय ५७ जनाको सकुशल उद्धार गरिएको छ ।

यस्तै उपत्यकामा ३४ जनाको मृत्यु, २१ जना बेपत्ता र १५ जना घाइते भएका छन्।

यसैगरी कोशी प्रदेशको पाँचथर, ओखलढुङ्गा, धनकुटा, झापा, मोरङ, सोलुखुम्बु र सुनसरीमा गरी ८ सय ५३ जनाको सकुशल उद्धार गरिएको छ भने १ सय ५२ स्थानमा भौतिक क्षति, १० जनाको मृत्यु, ९ जना वेपत्ता र २ जना घाइते भएका छन्।

मधेश प्रदेशको रौतहट र महोत्तरी जिल्लामा ५५ जनाको सकुशल उद्धार गरिएको छ भने १० स्थानहरुमा भौतिक क्षति र १ जना बेपत्ता भएका छन्।

यसैगरी बागमती (उपत्यका बाहेक) काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, धादिङ र चितवन जिल्लामा गरी ४ सय ९४ जनाको सकुशल उद्धार गरिएको छ भने ३१ स्थानमा भौतिक क्षति, २९ जनाको मृत्यु, १९ जना घाइते र ३९ जना वेपत्ता भएका छन्।

यसैगरी लुम्बिनी प्रदेशको रुपन्देहीमा बाढिमा परी २ जना बेपत्ता भएका छन्। सशस्त्र प्रहरी बल, नेपालबाट खोजी तथा उद्धारका लागि १० हजार ५ सय ४० जना जनशक्ति परिचालि गरिएको जनाइएको छ।

कमेन्ट गर्नुहोस्
Share: