
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले हवाई भाडा महँगो नलिन एयरलाइन्स कम्पनीहरूलाई आग्रह गरेका छन्। अमेरिकामा रहेका प्रधानमन्त्रीले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै हवाई भाडा महँगो नलिन आग्रह गरेका हुन्।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुने क्रममा हाल अमेरिकाको न्युयोर्कमा छन्।
‘लगातारको वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठेरो परेको छ। हवाई भाडा अरु बेला भन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ। हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरुसँग पहिले भन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ’ उनले फेसबुकमा लेखेका छन्।
