
पोखरा, असार ५-
पोखरामा शनिबार (आज) देखि राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु हुँदैछ ।
गत वैशाख १२ गतेको शक्तिशाली भूकम्प र त्यसपछि आएका पराकम्पनले काठमाडौंमा आयोजना गर्न सम्भव नभएपछि मोफसलमै पहिलोपटक राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
पश्चिमान्चल क्षेत्रीय खेलकुद विकास समितिको व्यवस्थापनमा पोखरा रंगशालामा प्रतियोगिता आयोजना गरिने प्रतियोगितामा ५ विकास क्षेत्रका ३ सय ६० जना विभिन्न खेलमा प्रतिष्पर्धा गर्दैछन् भने ४० जना प्रशिक्षक र अफिसियल पनि सहभागी हुनेछन् ।
प्रतियोगितामा ७६ स्वर्ण, ७६ रजत र ७६ काश्यपदकसहित कुल २ सय २८ पदकका लागि प्रतिष्पर्धा हुने समितिका सचिव प्रकाशचन्द्र घिमिरेले जानकारी दिए ।
प्रतियोगिता आषाढ ७ गतेसम्म सन्चालन हुनेछ ।
