
पोखरा। जिल्ला अदालत बागलुङले सहकारी ठगी प्रकरणमा पक्राउ परेका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। मंगलबार अदालतमा थुनछेक बहस सकिएपछि जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले थुनामा राख्न आदेश दिएको हो।
यस्तै इमेज सहकारी ठगी प्रकरणमै पक्राउ परेका उनका दाइ ओमबहादुर दर्जीलाई डेढ लाख रुपैयाँ धरौटीमा छाडिएको छ।
बागलुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका नेपाली बागलुङ र पोखरामा सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष थिए।
शुक्रबार भारतको नयाँदिल्लीबाट पक्राउ परेका नेपालीलाई आइतबार बागलुङ लगिएको थियो।
सहकारी संस्थाका एक हजार ५४३ जना बचतकर्ताको जाहेरीमा जिल्ला अदालत बागलुङमा २०८० असार २५ गते उनीविरुद्ध ठगी मुद्दा दर्ता भएको थियो।
सरकारी वकिलको कार्यालयले सहकारीका अध्यक्ष नेपालीसहित ११ जनाविरुद्ध एक अर्ब ५४ करोड रुपैयाँ र आठदेखि १० वर्ष कैद सजाय माग गर्दै ठगी मुद्दा दायर गरेको छ।
सहकारी ठगी मुद्दामा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन्। उनीहरूलाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा पठाएको छ।
