
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दुई तिहाइको सरकार घातक भएको बताएका छन्।
मंगलबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले वर्तमान दुई तिहाइ (कांग्रेस-एमाले)को सरकार घातक भएको बताएका हुन्।
सभापति लामिछानेले सरकारले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गर्न नसकेको र विपद्को बेलामा गम्भीरता देखाउन नसक्दा नागरिकको ज्यान गएको भएपनि कोही सांसदहरूले विरोधमा नबोलेको भन्दै दुई तिहाइको सरकार घातक भएको टिप्पणी गरेका छन्।
उनले कांग्रेस–एमालेका सांसदहरूप्रति लक्षित गर्दै विगतमा केही हुँदा सरकारलाई दोष दिनेहरूको अहिले भने स्वर सुकेको बताए। सभापति लामिछानेले दुई तिहाइको सरकार घातक हुने भएकाले एउटा ठुलो पार्टी प्रतिपक्षमा बस्नुपर्ने बताए। उनले दुई ठुला पार्टीको सरकार हुँदा सरकारलाई सचेत गराउने स्वर सानो हुने बताए।
सभापति लामिछानेले सरकारले रात्रिकालीन बस नचलाउन सूचना जारी गरेपनि सरोकारवाला निकायलाई जानकारी नगराएको भन्दै सकारले गैर जिम्मेवारपूर्ण काम गरेको बताए। उनले सरकारमा नागरिकको ज्यान बचाउने इच्छाशक्ति नभएकोले नागरिकहरूको बिल्लिबाठ भएको बताए।
उनले भने,‘दुई तिहाइको सरकार घातक छ। एउटा ठुलो पार्टी प्रतिपक्षमा बस्नुपर्छ। नत्र यस्तै हुन्छ। शान्त हुन्छ। केही पनि नभएजस्तो हुन्छ। मैले त्यतिखेर (गृहमन्त्री हुँदा) एक्शन रुमबाट राम्रो तयारी गरेको थिएँ। त्यसको निरन्तरता भएन। त्यसको निरन्तरता हुन सकेको भए, कमाण्ड पोस्टको मान्छे २४ सै घण्टा बस्ने व्यवस्था गरिएको थियो। प्रदेशभर राखिएको थियो। हेल्प सेन्टर राखिएको थियो। ती कुनै चिजको कार्यान्वयन भएनन्।’
सभापति लामिछानेले आफू गृहमन्त्री हुँदा बनाएको एक्शन रुमको कार्यान्वयन गरेको भए ठुलो क्षति नहुने जिकिर गरे।
