इक्यानले कोभिडपछि पहिलो पटक भौतिक रुपमा गर्‍यो शैक्षिक मेला

Share:

काठमाडौँ। एकदिने ‘१५औँ इक्यान मल्टी डेस्टिनेसन एजुकेशनल फेयर, २०२४’ बुधबार काठमाडौँको बानेश्वरस्थित एभरेष्ट होटलमा सम्पन्न भएको छ। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा एक दिने मेला सम्पन्न भएको इक्यानले जनाएको छ।

विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालालाई अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी सही जानकारी र परामर्श दिनु मेलाको मुख्य उद्देश्य रहेको इक्यानका अध्यक्ष शेषराज भट्टराईले जानकारी दिए।

उनले मेला विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूको लागि पुलको रूपमा स्थापित हुने बताए।

इक्यानले कोभिड-१९ महामारीपछि यसरी भौतिक रुपमा शैक्षिक मेलाको आयोजना गरेको यो पहिलो पटक हो। लामो समयपछि आयोजना गरिएको यो शैक्षिक मेलाबाट विद्यार्थीहरुले अन्तर्राष्ट्रिय मापदण्डअनुरूप तयार पारिएका शिक्षण सामग्री लगायतका बिषयमा ज्ञान लिने अवसर पाएको इक्यानको भनाई छ।

मेलामा इक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरू, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरू तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क, लगायत देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको इक्यानले बताइएको छ।

मेला असोज १३ गते हुने भनिएकोमा अबिरल वर्षा तथा प्राकृतिक विपत्तिका कारण ३ दिनपछि भएको हो।

कमेन्ट गर्नुहोस्
Share: