
काठमाडौँ। गत हप्ता परेको अविरल बर्षापछि आएको पहिरोका कारण अवरुद्ध रहेको हेटौँडा-कुलेखानी-फाखेल-हुमाने हुँदै काठमाडौँ जोड्ने सडक आइतबारबट सञ्चालनमा आउने भएको छ।
यस सडकखण्डअन्तर्गत कुलेखानी ड्याममुनि डाइभर्सन निर्माण र महालक्ष्मी खोलाले भत्काएको बाटो मर्मत भएपछि आइतबारबाट सवारीसाधन सञ्चालन हुने प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार फाखेल सडकखण्डमा भएका अवरोध पन्छाउने क्रम अन्तिम चरणमा रहेकाले आइतबारबाट सडक सञ्चालन आउने प्रदेशका भौतिक पूर्वाधार मन्त्री अमन कुमार मास्केले बताए। जसका लागि प्रदेशको भौतिक मन्त्रालयको टीम, यातायात पूर्वाधार विकास निर्देशनालयको टीम फिल्डमै खटिएका छन्।
यस्तै, इन्द्रसरोवर गाउँपालिका-४ स्थित माहालक्ष्मी खोलाले बगाएको सडकको सबै ठाउँमा आवश्यकताअनुसार मर्मत र अप्ठ्यारो ठाउँहरूमा डाइभर्सन बनाएर बाटो सफा गरेको उनको भनाइ छ।
फाखेल सडक भएर शनिबार केही मोटसाइकल सञ्चालनमा आएका छन् भने उक्त सडकखण्डमा फसेका सवारीसाधानसमेत गन्तव्यतर्फ लागेका छन्।
