यूएईलाई हराउँदै नेपाल पुग्यो विश्वकपमा

Share:

काठमाडौँ। नेपालले आइसिसी यु-१९ टी-२० महिला विश्वकपमा पुग्न सफल भएको छ। एसियाली छनोटको अन्तिम खेलमा बुधबार यूएईलाई  ८ विकेटले हराउँदै नेपालले पहिलो पटक विश्वकपमा स्थान बनाएको हो।

यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो।

नेपालको जितमा साना प्रवीणले सार्वधिक ३५ रन बनाइन्। उनले ४२ बलमा नटआउट ३५ रन बनाएकी हुन्। यस्तै कप्तान पुजा महतोले २१ रनको आक्राम इनिङ खेलिन। उनले १८ बलमा २१ रन बनाइन्।

यस्तै सावित्री धामीले १२ रनको योगदान दिइन् भने सोनी पाख्रिन १३ रनमा नटआउट रहिन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको यूएईले निर्धारित २० ओभरमा ८३ रन जोडेको थियो।

यूएईलाई मध्यम रनमा रोक्न नेपालकी करिष्मा गुरुङले घातक बलिङ गरिन् । उनले १७ रन खर्चिएर ४ विकेट लिइन् ।रिया शर्मा र सिमाना केसीले समान २-२ विकेट लिइन्। सीमानाले १८ रन खर्चिदाँ रियाले १२ रन मात्रै खर्चिइन्।

रचना कुमारी चौधरीले २४ रन खर्चिएर १ विकेट लिइन्। एसिया छनोटअन्तर्गत नेपालले यूएईमा ६ खेल खेल्यो। जसमा पाँच खेलमा जित निकाल्यो भने एक खेलमा पराजित भएको थियो।

नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले पराजित गरेको थियो। यस्तै, दोस्रोमा नेपालले कुवेतलाई १ सय ८ रनले हराएको थियो । तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको थियो।

नेपालले चौथो खेलमा आइतबार थाइल्याण्डलाई एक सय ६ रनले पराजित गरेको थियो। मङ्गलबार भएको पाँचौँ खेलमा नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हराएको थियो।

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी थिए। नेपालले ६ खेलमा ५ जितसंगै समूहमा पहिलो हुँदै  विश्वकपमा छनोट भएको हो।

युएइले पनि ६ खेलमा ५ जित हासिल गरेर १० अंक पाए  पनि रन रेटमा नेपाल यूएईभन्दा माथि रहेकाले ४ देशबीचको छनौट खेलमा  नेपाल  पहिलो भएको हो।

कमेन्ट गर्नुहोस्
Share: