गण्डकी प्रदेश महोत्सवमा आज पशुपति शर्माको प्रस्तुती रहने

Share:

पोखरा। नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा सञ्चालन भइरहेको गण्डकी प्रदेश महोत्सवमा आज लोकदोहोरी गायक पशुपति शर्माको प्रस्तुती रहने जनाइएको छ।

दोस्रो संस्करणको यस महोत्सवमा आज शुक्रबार कलाकार पशुपति शर्मासहित अन्य राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम सहसंयोजक किशोर लम्सालले जानकारी दिए।

शर्माको साथमा अन्य स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुती रहने उनको भनाइ छ । कार्यक्रममा आज दीपक खड्का, सृष्टी पौडेल, सीता राना, आयुष्मा केसीलगायतका कलाकारहरुको प्रस्तुती रहने लम्सालले बताए ।

दोस्रो संस्करणको यस महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृंगारका सामानलगायतका तीन सयभन्दा बढी स्टलहरु रहेका मूल संयोजक भट्टचनले जानकारी दिए।

गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आफैमा महत्वपूर्ण भएको उनको दाबी छ। कात्तिक २६ गते सुरु भएको महोत्सव मंसिर १० गतेसम्म सञ्चालन हुनेछ ।

एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सव प्रवेशका लागि रु ८० तथा विद्यार्थीको लागि रु ५० को टिकट एवम् ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उनले जानकारी दिए।

रु ८० को टिकट काटेर महोत्सव अवलोकन गर्ने दर्शकहरुलाई मौलाकाली केबलकारको टिकटमा ५० प्रतिशत छुट दिइनेसमेत उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
Share: