दार्चुला जिप दुर्घटना अपडेट: मृतकका आफन्तले बुझे शव

Share:

काठमाडौँ। दार्चुला जिप दुर्घटनामा मृत्यु भएकाहरुको शव आफन्तले बुझेका छन्। दुर्घटनामा मृत्यु भएका आठै जनाको शव आफन्तहरुले बुझिसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। शुक्रबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका-६ बगजेबलामा म १ ज ३३८ नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो।

मृत्यु भएकाहरुको शवको पोष्टमार्टम गरेर आफन्तहरुको जिम्मा लगाइएको प्रहरीले बताएको छ। गोकुलेश्वर अस्पतालमा मृतकहरुको शवको पोष्टमार्टम गरिएको हो।

मालिकार्जुन मन्दिरको जात्राबाट फर्किरहेका दर्शनार्थीहरु चढेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका छन्। घाइतेहरुको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ।

घाइतेहरुलाई हिजो नै नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी पुर्याइएको थियो। दुर्घटनामा परेर दार्चुलाको शैल्यशिखर नगरपालिकाका चार जना, बैतडीको डिलाशैनी गाउँपालिकाका दुई जना र दुई जना भारतीय नागरिकको ज्यान गएको थियो।

दुर्घटनामा परी मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका -९ नकतडका ४५ बर्षीय दिलिप सिंह बिष्ट, शैल्यशिखर नगरपालिका- ९ गाँजरीकी ४० बर्षीया मीना लेखक, शैल्यशिखर नगरपालिका -५ लेकगाउँका ३० बर्षीय विरेन्द्र रावल र उनकी श्रीमति २५ बर्षीया शान्ति रावल रहेकी छन्।

यस्तै बैतडीको डिलाशैनी गाउँपालिका -५ नगराउँका ५० बर्षीय विरेन्द्र बोहरा र उनका १७ बर्षीय भतिजा अस्मित बोहराको दुर्घटनामा परेर मृत्यु भएको छ।

यस्तै भारतको उत्तर प्रदेश बिजनर जिल्लाको मुवारक बस्ने ४५ बर्षीय महोम्मद शाकिर र उत्तर प्रदेशकै मेजावट बस्ने २० बर्षीय बसिम खानको पनि दुर्घटना परी मृत्यु भएको छ।

यस्तै दुर्घटनामा परेर घाइते भएका जिप चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका -८ पस्तीका ३० बर्षीय सुनिल जोशी, बैतडीको डिलाशैनी गाउँपालिका-५ का ४१ बर्षीय उत्तम रोकाया, दार्चुलाको शैल्यशिखर नगरपालिका-५ लेकगाउँका- ७ बर्षीय सन्दीप रावल, शैल्यशिखर नगरपालिका -५ का प्रकाशसिंह डाँगा र भारतको पिलभित जिल्ला मारुडण्डा बस्ने १७ बर्षीय सोहिन शाहको धनगढी उपचार भइरहेको छ।

जिप सडकबाट एक सय मिटर तल खसेको थियो। दुर्घटनाको यकीन कारण पत्ता नलागे पनि तीव्र गति र अनिँदोका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: