मौलिक संस्कृति संरक्षणमा महोत्वसको भूमिका महत्वपूर्ण: गण्डकी प्रदेश कृषि मन्त्री श्रेष्ठ

Share:

पोखरा। गण्डकी प्रदेश सरकारकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले स्थानीय स्तरमा सञ्चालन हुने महोत्सवले मौलिक संस्कृति र संस्कारलाई जगेर्ना गर्दै आर्थिक विकासका लक्ष्यहरु पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएकी छन।

नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा सञ्चालनमा दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सवमा आज शुभकामना मन्तव्य राख्दै मन्त्री श्रेष्ठले मेला महोत्सवमा आयोजना हुने सांस्कृति कार्यक्रम र स्टलहमा मौलिकता झल्किने गरेको बताइन्।

स्थापनाको हिसाबले नवलपुर कान्छो जिल्लाको रुपमा रहेको भए पनि यसले कृषि, पर्यटन र उद्योग क्षेत्रमा सम्भावना बोकेको मन्त्री श्रेष्ठले बताइन्। गण्डकी प्रदेश हिमाल, पहाड र तराईको संरचना मिलेर बनेको भन्दै उनले यहाँ धेरै सम्भावनाहरु रहेकाले हामी उत्पादनसँग जोडिनुपर्नेमा जोड दिइन्।

उनले युवाहरुको विदेश पलायन हुने क्रम रोक्न सरकारले विशेष कार्यक्रम बनाइरहेको बताए। मन्त्री श्रेष्ठ युवाहरुलाई कृषि क्षेत्रमा आकर्षण गर्ने गरी कार्यक्रम निर्माण गरिरहेको उनको भनाई छ।

“हामी तीन वटै तहका सरकारको अधिकार क्षेत्रभित्र कृषि, सहकारी पर्ने भएको हुँदा हामी योजनाहरु बनाउँदै अगाडि बढिरहेका छौँ” उनले भनिन्, “अब हामी सबैजना विकासमा जोडिनुको विकल्प छैन, त्यसैले कृषिबाट समृद्धि ल्याउन अगाडि बढ्दैछौँ।”

नवलपुरमात्रै नभएर गण्डकी प्रदेश नै कृषि र पर्यटनको प्रचुर सम्भावना भएको क्षेत्र भएको भन्दै कृषिलाई समेत पर्यटनसँग जोड्ने गरी काम हुने उनले बताइन्। सरकारले लिएको तीन खम्बे अर्थनीतिअनुसार सहकारी, सरकारी र निजी क्षेत्रलाई प्रवद्र्धन गर्दै अगाडि लगिने मन्त्री श्रेष्ठको भनाइ छ।

कात्तिक २६ देखि सञ्चालन भएको महोत्सवले गण्डकी प्रदेशकै सम्भावनाहरुको खोजी गर्ने र प्रदेशलाई पर्यटनको पूर्वाधारसँग जोड्ने उद्देश्य रहेको नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बताए।

उनले आज नवौँ दिनसम्म आइपुग्दा महोत्सवको करिब एक लाख जनाले अवलोकन गरेका भन्दै महोत्सवस्थलमा कृषिसँग सम्बन्धित ५० वटा स्टल निःशुल्क उपलब्ध गराएको बताए। महोत्सव मंसिर १० गतेसम्म सञ्चालन हुनेछ।

महोत्सव मूल समिति संयोजक भट्टचनकाअनुसार दोस्रो संस्करणको यस महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृंगारका सामानलगायतका तीन सयभन्दा बढी स्टलहरु रहेका छन्।

सिंगो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आफैमा महत्वपूर्ण भएको उनको दाबी छ। एक करोड ३० लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव प्रवेशका लागि रु ८० तथा विद्यार्थीको लागि रु ६० को टिकट एवम् ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उनले जानकारी दिए।

महोत्सवका सांस्कृतिक कार्यक्रमका सहसंयोजक किशोर लम्सालले आज मंगलबार महोत्सवमा कलाकार अस्मिता अधिकारी, रवि रिमाल,प्रतिभा गैरेलगायतले प्रस्तुती राखेका बताए।

यसैबीच, भोलि बुधबार महोत्सवमा चर्चित गायिका ज्योति मगर, सञ्जना श्रेष्ठ, गणेश विश्वकर्मालगायतका कलाकारहरुको प्रस्तुती रहने लम्सालको भनाइ छ। नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा सञ्चालन भएको महोत्सवको व्यवस्थापन राजधानी अम्युजमेन्ट राइड्स नेपालले गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: