
पोखरा। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदी किनारमा जारी दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सवको आज आठ हजार बढी दर्शकले अवलोकन गरेका छन्।
महोत्सव आयोजक संस्था नपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष महोत्सव मूल समिति संयोजक अमृत भट्टचनले महोत्सवमा दर्शकहरुको आकर्षण थपिँदै गएको बताए।
दोस्रो संस्करणको यस महोत्सवमा नेपालमै पहिलोपटक अन्डर वाटर फिस टनेल राखिएका कारण समेत दर्शकहरुको संख्या बढेको बताए। फिस टनेल हेर्नका लागि मात्रै भनेर पनि धेरै मानिसहरु महोत्सवस्थलसम्म आइपुगेका भट्टचनको भनाई छ।
गैँडाकोटस्थित नारायणी नदीकिनारमा लाग्ने हरेक संस्करणको महोत्सवमा
केही नौलो गर्दै जाने योजनाअनुसार यसपटकको महोत्सवमा नेपालमा नै
पहिलोपटक अन्डर वाटर फिस टनेल निर्माण गरिएको उनले बताए।
महोत्सवमा भोलि शनिबार दर्शकहरुको संख्या अत्यधिक हुनसक्ने भन्दै
सोहीअनुसारको व्यवस्थापन गरिएको उनको भनाइ छ। शनिबार सार्वजनिक बिदाको दिन भएकाले दर्शकहरुको भीड बढ्ने भएकाले सोहीअनुसारको व्यवस्थापन र टिकट घरको संख्या समेत थपिने उनले बताए।
कात्तिक २६ देखि सञ्चालन भएको महोत्सवले गण्डकी प्रदेशकै सम्भावनाहरुको खोजी गर्ने र प्रदेशलाई पर्यटनको पूर्वाधारसँग जोड्ने उद्देश्य रहेको भट्टचनको भनाइ छ।
मंसिर १० गतेसम्म सञ्चालन हुने दोस्रो संस्करणको यस महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृंगारका सामानलगायतका तीन सयभन्दा बढी स्टलहरु रहेका भट्टचनको भनाइ छ।
गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आफैमा महत्वपूर्ण भएको उनको दाबी छ। एक करोड ३० लाख रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव प्रवेशका लागि रु ८० तथा विद्यार्थीको लागि रु ६० को टिकट एवम् ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उनले जानकारी दिए।
महोत्सवको सांस्कृतिक कार्यक्रम समितिका सहसंयोजक किशोर लम्सालका अनुसार आज सांस्कृतिक कार्यक्रममा एन्जीला रेग्मी, अष्मी थापालगायत स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती राखेका छन्।
भोलिको सांस्कृतिक कार्यक्रममा राजनराज शिवाकोटी, सम्झना भण्डारी, भरत पौडेल क्षत्री, जमुना सुनार विन्दु थापासहित स्थानीय कलाकारहरुको प्रस्तुती रहने लम्सालले बताए।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा सञ्चालन भएको महोत्सवको व्यवस्थापन राजधानी अम्युजमेन्ट राइड्स नेपालले गरेको हो।
