
पोखरा। कास्कीको पोखरा महानगरपालिका वडा नं ७ सहिदचोकस्थित जिल्ला सहकारी संघ कास्कीको नवनिर्मित भवन शुभारम्भ गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक कार्यक्रमकाबीच उक्त भवन उद्घाटन गरेका हुन्।
दुईतलाको भवनमा भुइँतलामा सात वटा सटर र माथिल्लो तलामा कार्यालय छन्। भवन निर्माण गर्न करिब दुई करोड रुपैयाँ खर्च लागेको भवन निर्माण समिति सदस्य एवं संघका सञ्चालक सदस्य धनराज पुरीले जानकारी दिए।
संघले दुग्ध सहकारीमार्फत दैनिक रुपमा संकलित करिब तीन हजार पाँच सय लिटर दूध खरिद हुने गर्दछ। संघले उक्त दूधलाई प्रशोधन गरेर प्याकेट दूध, दही, नौनी, पनिर, खुवा र आइसक्रिम उत्पादन गरेर बजारमा बिक्री गर्दै आएको छ।
भवन उद्घाटन कार्यक्रममा मुख्यमन्त्रीले केही व्यक्तिका कमजोरीले गर्दा सिंगो सहकारी क्षेत्र समस्या भएको बताए। पछिल्लो समय सहकारीको नाम सुन्दा तर्सिने अवस्था सिर्जना भएको भन्दै उनले सहकारीको उद्देश्य, मर्म र भावनाविपरीत सहकारी सञ्चालन गर्दा समस्या आएको स्पष्ट पारे।
मुख्यमन्त्रीले सहकारी संस्थाका नियमनकारी निकाय पनि कमजोर देखिएकाले जतिसक्दो चाँडो सहकारीमा देखिएको समस्याको समाधान गरी सहकारी क्षेत्रको गुमेको साख फिर्ता ल्याउनुपर्नेमा जोड दिए।
मुख्यमन्त्रीले सहकारी बचत रकम अपचलनमा संलग्न भएको तथ्य प्रमाण भेटिए जुनसुकै व्यक्ति भए पनि कारबाहीको दायरामा आउने बताए।प्रदेश सरकारले सहकारीमार्फत कृषि उत्पादनमा लागेका किसानलाई अनुदान दिँदै आएको समेत उनले बताए।
यस्तै गण्डकी प्रदेशका सहकारी रजिस्टार भेषराज रिजालले निष्क्रय रहेका सहकारी संस्था खोरजीको प्रक्रियमा रहेको बताए। सहकारी संस्था धेरै हुँदा न्यून जनशक्ति र संरचनाबाट प्रभावकारी नियमनमा जटिलता रहेको उनको भनाइ छ।
कार्यक्रममा पूर्व सञ्चालक तेजनारायण अधिकारी, पोखरा महानगर सहकारी समिति संयोजक रवीरमण तिवारीलगायतले बोलेका थिए।
कार्यक्रममा भवन निर्माण कार्यमा उल्लेख्य योगदान पु¥याउने भवन निर्माण समिति संयोजक छविलाल लामिछाने, सदस्य अम्बिका गौतम आचार्य, दीपकराज बास्तोला, नवराज बराल, धनराज पुरी, भोजराज घिमिरे तथा निर्माण व्यावसायी संस्था ए।आयरा कन्स्ट्रक्सन एण्ड विल्डर्सलाई सम्मान गरिएको थियो।
संस्थाका अध्यक्ष सावित्रा कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष छविलाल लामिछानेले स्वागत, उपाध्यक्ष अम्बिका गौतम आचार्यले सहकारीका सिद्धान्त वाचन, महासचिव दीपकराज बास्तोलाले सञ्चालन गरेका थिए।
