
काठमाडौँ। साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत काठमाडौँले आइतबार उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको साइबर ब्यूरोका डीआईजी नविन्द अर्यालले बताए।
प्रसाईंले गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा लगानी रहेको अभिव्यक्ति दिएका थिए। त्यसबेला उनले केही कागजातहरु देखाउँदै प्रधानमन्त्री ओलीले कम्बोडियामा २१ करोड अमेरिकी डलर बराबर लगानी गरेको दाबी गरेका थिए।
सामाजिक सञ्जालमा उनको अभिव्यक्ति भाइरल भएपछि प्रहरीले अनुसन्धान थाल्यो। त्यसक्रममा प्रारम्भिक अनुसन्धानबाट प्रसाईंले देखाएका कागजातहरु नै फर्जी भएको खुलेको सीआईबीले जनाएको छ।
