झण्डै एक हप्तादेखि अवरुद्ध भएको राहदानी सेवा सञ्चालनमा

223
0
Share:

काठमाडौँ। कम्प्युटर प्रणालीमा समस्या देखिएर अवरुद्ध भएको राहदानी विभागबाट प्रदान गरिँदै आइएको सेवा सीमबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। विभागले आज साँझ एक सूचना जारी गर्दै सेवा सञ्चालन भएको जनाएको हो।

सेवा सञ्चालन भएसँगै सेवा लिन चाहनेले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। राहदानी विभागबाट राहदानी सेवा पूर्ण रूपमा प्रारम्भ गरिएको, अत्यावश्यक परी विभागबाट सेवा लिन चाहने सेवाग्राहीले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको सूचनामा जनाइएको छ।

यसैगरी जिल्लारइलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरुमा क्रमशः सेवाविस्तार गरिने यसअघिको सूचनाअनुरूप काम भइरहेकाले मङ्गलबारदेखि परीक्षणको काम सुरु गरिने सूचनामा उल्लेख छ। यसअघि आवेदन गरिसकेका (बायोमेट्रिक समेत) सेवाग्राहीको राहदानी छपाइ नियमित प्रक्रियाबाट भइरहेको र सम्बन्धित जिल्लारइलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा पठाउन सुरु गरिएको सूचनामा उल्लेख छ।

“सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति विभाग संवेदनशील रहेको र यथाशीघ्र समस्या समाधानका लागि आवश्यक सम्पूर्ण कार्यहरू गरिरहेको छ”, विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: