
काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई शारडा समूहले ओमोडा–ई ५ कार प्रदान गर्ने भएको छ।
‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई ओमोडाको नयाँ कार प्रदान गरिने एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले पुष्टि गरे। यसअघि पुरस्कारको रूपमा दिइने कारको नाम खुलाइएको थिएन। नेपालमा यसको बजार मूल्य ६१ लाख ९९ हजार रुपैयाँ छ।
एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रा।लि। र क्यानको सहकार्यमा शारडा समूहसँग सम्झौता भएको हो।
मंसिर १५ देखि पुष ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा शारडा ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्सको ‘ओमोडा एन्ड जेईको’ ‘ड्रिभन बाई’ सह प्रायोजकको रूपमा साझेदार रहेको छ।
