कसले जित्ला कोपा अमेरिका उपाधि ? मेसीलाई मौका, चिलीको चुनौती

Share:

काठमाडौं, आषाढ १९ । कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार राति अर्जेन्टिना र आयोजक राष्ट्र चिली भिड्दै छन् ।

१४ पटकको विजेता अर्जेन्टिना र अहिलेसम्म ५ पटक फाइनल खेलेर पनि उपाधि जित्न नसकेको चिलीबीचको भिडन्त रोमान्चक हुने धेरैको अनुमान छ ।

सन् १९५५ मा चिली पहिलोपटक घरेलु भूमिमा आयोजना भएको कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा पुगेको थियो ।

त्यसअघि, ११ पटक प्रतियोगिताको सेमिफाइनल खेले पनि फाइनलमा स्थान बनाउन नसकेको घरेलु टोली उपाधि जित्ने अठोटमा थियो भने समर्थक पनि विजयी उत्सव मनाउन तम्तयार थिए । तर, फाइनल भिडन्तमा अर्जेन्टिनासँग १–० को साँघुरो अन्तरमा पराजित भएपछि चिली उपाधि उचाल्नबाट वन्चित रह्यो ।

करिब ६० वर्षपछि पुनः त्यही मैदानमा तिनै दुई राष्ट्र उपाधिका लागि आमने–सामने हुँदा एउटासँग गर्विलो इतिहास छ, अर्कोसँग त्यही इतिहासले दिएको घाउ ।

सन् १९९३ देखि मुख्य फुटबल प्रतियोगिताको उपाधिविहीन अर्जेन्टिना चिलीलाई उसकै मैदानमा पुनः एकपटक निराश बनाउँदै उपाधिभोक मेट्ने दाउमा छ । विश्लेषकहरुको भनाइ मान्ने हो भने अर्जेन्टिना उपाधिको स्वभाविक दाबेदार हो । तर, अर्जेन्टिनालाई चिलीको चुनौती त्यति सजिलो भने हुने छैन ।

चिली पनि प्रतियोगितामा उत्कृष्ट लयमा छ । घरेलु दर्शक र समर्थककोबीच उ उत्साहित पनि छ । प्रतियोगितामा चिलीले पेरुलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो भने अर्जेन्टिनाले पाराग्वेलाई स्तब्ध बनाउदै चिलिसँगको उपाधि भिडन्त तय गरेको थियो ।

त्यसैले नेपाली समयअनुसार शनिबार राति पौने २ बजे सुरु हुने चिली र अर्जेन्टिनाबीचको फाइनल भिडन्त रोमान्चक हुने धेरैको अनुमान छ । यो फाइनल अर्जेन्टाइन कप्तान लियोनल मेसीका लागि पनि विशेष हुनेछ । क्लब फुटबलमा सम्पूर्ण महत्वपूर्ण उपाधि चुमिसकेका मेसीलाई आलोचकहरुले देशका लागि खेल्न नसक्ने खेलाडीको बिल्ला भिराउने गरेका छन् ।

स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने मेसीले बार्सिलोनालाई महत्वपूर्ण उपाधि दिलाउन जस्तो भूमिका खेलेका छन्, अर्जेन्टिनाको जर्सीमा भने त्यस्तो भूमिका खेल्न नसकेको टिप्पणीमा सत्यता पनि छ । यस्तो अवस्थामा मेसीसँग टोलीलाई उपाधि दिलाउँदै आलोचकहरुको मुख थुन्ने सुवर्ण अवसर छ ।

अर्जेन्टिनासँग मेसी मात्र हैन, टोलीलाई जित दिलाउन सक्ने सर्जियो अगुरो, डि मारिया जस्ता अन्य उत्कृष्ट खेलाडी पनि छन् । तर, ५ पटक फाइनल खेलेर पनि उपाधि जित्न नसकेको चिली घरेलु मैदानमा सजिलै हार मान्ने पक्षमा छैन ।

चिलीले कुनै एक खेलाडीमा निर्भर नभइ ‘टिम गेम’ प्रस्तुत गरिरहेको छ । तर, ऊसँग अलेक्सिस सान्चेज, अर्टुरो भिडाल, इडुवार्डो भार्गास जस्ता स्टार खेलाडीको कमी छैन ।

साविक विजेता एवं प्रतियोगिताकै सर्वाधिक सफल टोली उरुग्वे जस्ता टोलीलाई निराश बनाउँदै फाइनलमा स्थान सुरक्षित गरेको चिली उपाधि आत्मसाथ गर्न सक्षम छ ।

imagekhabar

कमेन्ट गर्नुहोस्
Share: