
काठमाडौँ । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।
यस दिनमा शिव मन्दिर गई विशेषतः ‘अर्धनारीश्वर पुजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ। अझै सोमबारको दिन शिवजीको पुजा गर्नेबेला शिवपुराण पढ्दा शिवजी प्रसन्न भई मागेको वर दिने विश्वास गरिन्छ ।
कुमारी स्त्रीले राम्रो वर पाउनका लागि शिवजीको पुजा गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुखशान्ती र पतिको लामो आयुको लागि शिवजीको पुजा गर्दछन्। यस दिन व्रत बस्दा एक–छाक मात्रा खानुपर्दछ भने खानामा नुन-तेल मिसाउन मनाही छ।
शिव हिन्दू धर्मको प्रमुख देवताहरू मध्यको एक ईश्वर को रुप हो । वेदमा यिनको नाम रुद्र भनिएको छ। यीनी व्यक्तिको चेतनाको अन्तर्यामी छन्। यिनको अर्धाङ्गिनीको नाम पार्वती हो। यिनका दुईवटा पुत्रहरू छन्, जसमा एक स्कन्द र अर्का गणेश हुन्।
शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ।
सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझै पनि छ।
