
पोखरा। कोभिडसँगै सुस्ताएको मोफसलकै चर्चित आदर्श कप फुटवल प्रतियोगिता ६ वर्षपछि लयमा फर्किएको छ। मंसिर २२ देखि २९ गतेसम्म क्लबले २५ औं संस्करणको आदर्श कपको आयोजना गरेर प्रतियोगितालाई लयमा फर्काएको हो।
२०७५ सालमा २४ औं संस्करणको ऋदिसिद्धी आदर्श कप पछि लेखनाथकै सर्वाधिक राशीको प्रतियोगिता ६ वर्षसम्म रोकिएको थियो। झण्डै ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको तयारीलाई क्लबले अन्तिम चरणमा पुर्याएको छ।
प्रतियोगितामा आयोजकसहित गण्डकी प्रदेशका ८ समूहले भाग लिँदैछन्। आयोजक आदर्श युवा क्लव, कास्की ११, नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी सहितका विभागीय क्लब एवम् तनहुँ, गोरखा र स्याङजाका एक÷एक टिम सहभागी हुनेछन्।
फुटवल मैदान मर्मत, अस्थायी प्याराफिट निर्माण लगायतको अन्य तयारी पूरा भएको क्लवका अध्यक्ष पदम गुरुङले जानकारी दिए। प्रतियोगिताका लागि शुभेच्छुक र विभिन्न निकायबाट आर्थिक सहयोग आउनेक्रम जारी रहेको कलवका कोषाध्यक्ष विष्णु हमालले बताए।
मोफसलमा स्तरिय खेल खेलाउन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै, हमालले सवैको साथ र सहयोगले हौसला थपेको बताए।
मोफसलमा आरा रारा गोल्डकप पछि आदर्श युवा क्लवले मात्र निरन्तरताको श्रृंखला जारी राखेको क्लवका पूर्व अध्यक्ष विजय गुरुङले बताए।
प्रतियोगिताका लागि वडा नंं २९ को कार्यालयले संरक्षकत्व प्रदान गर्दै खेल मैदान मर्मत संभारमा सहयोग गरेको छ।
त्यस्तै महानगरका विभिन्न वडा कार्यालय, प्रदेशका विभिन्न कार्यालय तथा संघसंस्था र शुभेच्छुकहरुले आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष गुरुङले उल्लेख गरे ।
प्रतियोगिताको विजेतालाई नगद ४ लाख २५ हजार पाँच सय २५ रुपैयाँ र उपविजेतालाई २ लाख २५ हजार पाँचसय २५ रुपैयाँ र मेड प्रदान गरिनेछ।
