
रञ्जन अधिकारी पोखरा २० असार । पोखराको मणिपाल शिक्षण अस्पतालमा इन्टर्न गर्दै गरेका चिकित्सक अनिमेश ठाकुरको शनिबार राति रहस्यमय मृत्यु भएको छ । महोत्तरी घर भई मणिपालमै एमबीबीएस सकेर इन्टर्न गर्दै गरेका २६ वर्षीय ठाकुरको शनिबार राति करिब पौने १० बजे अस्पतालको होस्टलको छतबाट खसेर मृत्यू भएको हो ।
अनिमेश स्वास्थ्य मन्त्रालय सहसचिव तथा अनुगमन महाशाखा प्रमुख डा. गरीबदास ठाकुरका छोरा हुन् । अस्पताल नजिकैको फुलबारीमार्ग सेक्टर २ स्थित घर नं ४६ को तेस्रो तलामाथिबाट खसेका ठाकुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठाकुरका साथीहरुले अनिमेशको हत्या भएको दाबी गरेका छन् । ठाकुर र काठमाडौं घर भइ मणिपालमै इन्र्टनसिप गर्दै आएकी एक चिकित्सक युवतीबीच तीन वर्ष अघिबाट प्रेम सम्बन्ध रहँदै आएको ठाकुरका एक साथील बताए । मृतक अनिमेश र उनकी प्रेमिकाबीच केही दिनदेखी विवाद भएपछि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरी श्रोतको भनाई छ । प्रेमिकासँगको मनमुटावका कारण ‘आत्महत्या’ गरेको या दुर्घटनामा परेको आंशकामा अनुसन्धान शुरु गरेको छ । मृतकका बुबाले अनिमेशको मृत्यु ‘शंकास्पद’ भन्दै छानबिनको माग गरे ।
अनिमेशले पछिल्ला केही दिनदेखि अर्कै प्रेमीसँग लागेको भन्दै प्रेमिकासँग विवाद गर्दै आएका थिए । शनिबार राति पनि अनिमेश प्रेमिकाकै कोठामा गएका थिए । सो क्रममा उनीहरुबीच पुनः विवाद भएपछि उनले आत्महत्या गरेको हुनसक्ने कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक हरिबहादुर पालले बताए । उनले हत्या गरेको कुनै प्रमाण नभेटिएको र घटनाको प्रकृतिपनि त्यस्तो नदेखिएको पालले बताए ।
‘सँगै पढ्ने प्रेमिकाले पहिला जे भएपनि अब आफ्नो बाटो हिड्नुपर्छ भनेपछि ठाकुर केही दिनदेखि तनावमा रहेछन्, पालले भने, ‘मनमुटावपछि मदिरा पिएर प्रेमिकाको कोठामा पुगेका ठाकुरले धोका पाएको भन्दै छतबाट हामफालेका वा नसाले सन्तुलन गुमाइ आफैँ खसेको हुन सक्छ ।’
ठाकुर शनिबार राति मृत्यु हुनुअघि युवतीको कोठामा अर्का इन्टर्न डाक्टर आयुस अर्यालसँगै रहेका थिए । डा. अर्याल प्रहरी महानिरीक्षक उपेन्द्रकान्तका छोरा हुन् । प्रहरीले रेलिङ्गमा झुन्डिएका ठाकुरलाई सँगैका साथीले बचाउन खोज्दाखोज्दै खसेका बताएको छ । ‘रक्सीले मातेका साथी रेलिङ्गमा झुन्डिएपछि उनीसँगैका केटा र केटी साथीले तानेर बचाउने प्रयास गरेछन,’ पालले भने ‘तर ७२ किलोका ठाकुरलाई माथि तान्न नसकेकाले भुइँमा खसेछन ।’ राति पौने दशबजेतिर ठूलो आवाजसँगै युवती चिच्याएको आवाज आएपछि स्थानीबासी घटनास्थलमा पुगेका थिए ।
छोराको मृत्युको खबर सुनेपछि डा. ठाकुर बिहानै आफन्तसहित पोखरामा आइपुगेका थिए । ‘लेखपढ गर्न पनि सिपालु भएकाले आत्महत्या गर्ने कमजोर मनोबलको स्वभाव उसमा थिएन’, उनले रुँदै भने– ‘मृत्यु शंकास्पद देखिन्छ, प्रहरी र अस्पताल सबैले घटनाको छानबिन गरी मलाई न्याय दिलाउन आग्रह गर्छु ।’
तर साथीहरुले भने अनिमेशले आत्महत्या गरेको नभई कसैले धकेलेर हत्या गरेको बताएका छन् । प्रेमिकासँग विवाद भइरहेका समयमा कसैले धकेलेको हुनसक्ने उनीहरुको भनाई छ। मृतक अनिमेशको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टमपछि आफ्नै घर महोत्तरी लगिएको प्रहरी हवल्दार सुजन घिमिरेले जानकारी दिए ।
