तेस्रो सँस्करणको शैक्षिक मेला भदौको पहिलो साता

Share:

रेम बिक /पोखरा, २६ असार । पोखरामा ईक्यान शैक्षिक मेलाको तेस्रो सँस्करण हुने भएको छ । नेपाल शैक्षिक परामर्श संघ कास्कीको आयोजनामा हुने शैक्षिक मेला भदौको ४ गतेदेखि ६ गतेसम्म चल्नेछ । पोखरामा हुने मेलाको व्यवस्थापन काठमाण्डौको ईभेन्ट कम्पनी ‘वान अप ईभेन्ट्स एण्ड मिडिया सोलुसन’ले गर्नेछ ।

मेलाको व्यवस्थापन गर्ने विषयमा ईक्यान कास्की र वान अपबीच सहमती भएको छ । शनिबार ईक्यान कास्कीको कार्यालयमा पोखरामा हुने शैक्षिक मेलाको सँयोजक मिलन तिवारी र वान अप ईभेन्ट्सका प्रमुख कार्यकारी अधिकृत रविशंकर झाले सहमती पत्रमा हस्ताक्षर गरे ।

यो भन्दा अगाडि पोखरामा भएका दुई सँस्करणका शैक्षिक मेला पनि वान अप ईभेन्ट्स एण्ड मिडिया सोलुसनले नै व्यवस्थापन गरेको छ । यस्तै वान अपले काठमाण्डौमा हुने हरेक सँस्करणको शैक्षिक मेलाको पनि व्यवस्थापन गर्दै आएको छ । काठमाण्डौमा अहिलेसम्म ९ वटा सँस्करणका शैक्षिक मेला भैसकेका छन् । पछिल्लो सँस्करणको मेला असारको १७ गतेदेखि २० गतेसम्म काठमाण्डौमा भएको थियो ।

पोखरा सभागृहमा हुने शैक्षिक मेला यो पटक अघिल्ला सँस्करणभन्दा अझै विशेष हुने ईक्यान कास्कीले जनाएको छ । ‘यो पटकको शैक्षिक मेला विद्यार्थी र अभिभावकहरुलाई सकेसम्म गतिलो परामर्श दिने उद्देश्यको हुनेछ ।’ ईक्यान कास्कीका अध्यक्ष महेश भण्डारीले भने–‘मेलाबाट धेरैले लाभ लिनेछन् भन्ने हाम्रो आशा छ ।’

शैक्षिक मेलामा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका कलेजहरुको पनि सहभागिता रहने आयोजकले बताएको छ । पोखरामा करिब १ सयको हाराहारीमा शैक्षिक परामर्श केन्द्रहरु भएपनि ईक्यानसँग आवद्ध संस्थाहरु २५ वटा छन् ।

कमेन्ट गर्नुहोस्
Share: