
काठमाडौं, आषाढ २६ । चीनमा शक्तिशाली समुद्री आँधीका कारण विभिन्न क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
१ सय ७३ किलोमिटर प्रति घन्टाको वेगमा आँधीको प्रभावबाट बच्न पूर्वी तटीय क्षेत्रका करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
‘चान होम’ नाम दिइएको आँधीका कारण पूर्वी झेजियाङ प्रान्तमा भूस्खलन भएको छ । आँधी प्रभावित अरु क्षेत्रमासमेत बाढी र पहिरो आउने अनुमान गरिएको छ । करिब ४ सय हवाई उडान र सयभन्दा बढी रेल सेवा पनि रद्द गरिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
चीनको पूर्वी क्षेत्रमा सन् १९४९ मा आएको आँधीले भन्दा अहिलेको ‘चान होम’बाट बढी क्षति पुग्ने चेतावनी दिइएको छ ।
अघिल्लो हप्ता मात्र फिलिपिन्समा आएको यही आँधीमा परी पाँचजनाको मृत्यु भएको थियो । आँधीले ताइवान र जापानका विभिन्न क्षेत्रमासमेत क्षति पुर्याइसकेको छ । (एजेन्सी)
