
पोखरा । उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको उपल्लो मुस्ताङमा चिसो ह्वात्तै बढेको छ। हिउँदयामको अत्यधिक चिसो बढेसँगै उपल्लो मुस्ताङको जनजीवन समेत प्रभावित बन्दै जान थालेको छ।
उपल्लो मुस्ताङमा दिउँसोको समय घाम लाग्दा केही न्यानो महसुस भए पनि बिहान र बेलुकीपख अत्यधिक चिसो छाउँने गरेको लोमान्थाङ गाउँपालिकाका सबइन्जिनियर उदय घिमिरेले जानकारी दिए।
सबइन्जिनियर घिमिरेका अनुसार उपल्लो मुस्ताङमा बिहान र बेलुकीपखको समयमा तापक्रम माइनस २० डिग्रीसम्म पुग्ने गरेको बताए।
उपल्लो मुस्ताङमा चिसो अत्यधिक रुपमा वृद्धि भइरहेकाले स्थानीय नागरिकहरूको दैनिकी समेत प्रभावित बन्दै जान थालेको सबइन्जिनियर घिमिरेको भनाइ छ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका र लोघेकर दामोदर कुण्ड गाउँपालिकामा अत्यधिक चिसोका कारण शाखा नदी, सिँचाइ कुलो, खानेपानी धारा र घरका सेफ्टी ट्यांकी बरफ बनेर जम्ने गरेको छ। चिसोले शाखा नदी बरफ बनेर जम्न थालेपछि स्थानीय नागरिकको दैनिक जीवनमा प्रतिकूल असर पुगेको छ।
शाखा नदी जमेपछि उपल्लो मुस्ताङ आउजाउ गर्ने सवारी साधनलाई समस्या उत्पन्न हुने गरेको छ। सिँचाइ कुलो जमेकाले नागरिकको खेतीयोग्य जमिनलाई सिञ्चित गर्नमा अप्ठ्यारो परेको छ।
उपल्लो मुस्ताङमा घरका धारा र शौचालयका सेफ्टी ट्यांकी नै जमेर बसेकाले समेत स्थानीयको जनजीवन कष्ठप्रद बनेको हो।
