बुधबारदेखि रामघाटमा हुने बास्केटबलको तयारी पूरा, पहिलो संस्करणमा बेगा र कास्की एकेडेमी भिड्ने

Share:

पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालिका- ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा आयोजना हुने पहिलो संस्करणको खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको तयारी पूरा भएको छ।

चैंपरे लेम भाईखलक घान्द्रुकको आयोजनामा (भोलि) पौष ३ गतेदेखि ६ गतेसम्म पोखरा-१० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा हुने प्रतियोगिताको तयारी पूरा भएको कार्यक्रम संयोजक राजकुमार गुरुङले जानकारी दिए।

उनका अनुसार खुला पुरुषतर्फ १७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ।

उनले उद्घाटन खेलमा बेगा र कास्की बास्केटबल एकेडेमी भिड्ने जानकारी दिए। गुरुङले पुरुषतर्फको विजेता टोलीलाई नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने बताए।

यस्तै, उपविजता बन्ने टोलीले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ।महिलातर्फको विजेतालाई नगद रु २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। भने, उपविजेता टोलाई नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए।

संयोजक गुरुङका अनुसार पुरुष तथा महिला दुवै प्रतियोगितामा विधागततर्फ उत्कृष्ड खेलाडी (एमभिपी), उत्कृष्ट डिफेन्सिभ खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट अफेन्सिभ खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: