एनपिएल : फाइनलमा भोलि सुदुरपश्चिम र जनकपुर भिड्दै, कसले मार्ला बाजी ?

Share:

काठमाडौँ । गत मंसिर १५ गतेदेखी जारी पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा भोलि (शनिवार) फाइनल खेल हुँदैछ। सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच भोलि फाइनल खेल हुन लागेको हो। बिहीवार कर्णाली याक्सलाई दुई विकेटले हराउँदै जनकपुरले सुदुरपश्चिमसंगको उपाधि भिडन्त तय गरेको थियो।

सुदुरपश्चिमले पहिलो क्वालिफायरमा जनकपुरलाई पराजित गर्दै फाइनल यात्रा तय गर्दा जनकपुरले दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।

सुदूरपश्चिमलाई उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको छ। तर, फाइनलमा दुवै टोलीमाथि दबाब हुने भएकाले यसअघिका प्रदर्शन नदोहोरिन पनि सक्छ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले यसअघिका नतिजा हेरेर नखेल्ने र सजिलो प्रतिद्वन्द्वीका रूपमा नलिने स्पष्ट पारेका छन्। साथै उनले जनकपुर पनि बलियो रहेको र राम्रो योजना बनाएर खेल्ने बताएका छन्।

दीपेन्द्रले जित या हारभन्दा पनि आफ्नो शतप्रतिशत दिएर खेल्ने बताए। पिचको अवस्था अनुरूपमा ब्याटिङ गर्ने योजना हुने उनको भनाइ छ।

यस्तै जनकपुरका कप्तान आसिफ शेखले फाइनलमा बदला लिनेभन्दा पनि आफूसँग भएको उत्कृष्ट प्रदर्शन दिने विश्वास व्यक्त गरे। उनले पछिल्ला खेलमा राम्रो ब्याटिङ गर्न नसके पनि फाइनलमा राम्रो खेल्ने आशा व्यक्त गरेका छन्।

एनपिएल क्रिकेट प्रतियोगिताको उपाधि विजेता टोलीले रू एक करोड १० लाख पुरस्कार प्राप्त गर्ने छ। प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले रू ५१ लाख प्राप्त गर्दा तेस्रो स्थान हासिल गर्ने टोलीले रू २५ लाख प्राप्त गर्ने छ । त्यस्तै चौथो स्थान हासिल गर्ने टोलीले रू १५ लाख पुरस्कार प्राप्त गर्नेछन्।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीलाई एक थान कार प्रदान गर्ने क्यानले यसअघि नै घोषणा गरिसकेको छ।

कमेन्ट गर्नुहोस्
Share: