रविको सांसद पद निलम्बन, रास्वपा सभापतिमा डीपी अर्याल

Share:

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसदबाट निलम्बित भएका छन्। पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई सभामुख देवराज घिमिरेले निलम्बन गरेका हुन्।

सहकारीको बचत अपचलन तथा सम्पत्ति शुद्धीकरणको कसुरमा समेत आइतबार अभियोग दर्ता भएपछि उनको सांसद पद के हुन्छ भने चासो रहेको थियो।

लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको जानकारीपत्र प्रहरीले सभामुख देवराज घिमिरेलाई आइतबार साँझनै पत्र पठाएको थियो।

उक्त विषयमा केही निर्णय दिँदै सभामुख घिमिरेले निलम्बनको पत्र टाँस गरेका हुन्। प्रतिनिधिसभा नियमावली अनुसार संसद् अधिवेशन नरहेको अवस्थामा निलम्बनको पत्र टाँस गर्नुपर्ने व्यवस्था रहेको छ।

‘प्रचलित कानुन बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेको सो कानुनी व्यवस्थाको प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ‚’ संसद् सचिवालयले टाँस गरेको सूचनामा लेखिएको छ।

यस्तै पार्टी सभापति लामिछानेको सांसदबाट पद निलम्बनमा परेपछि कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई तोकिएको छ।

रास्वपाको आज बसेको सचिवालयको बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो।

पार्टी सभापति रवि लामिछानेद्वारा उपसभापति अर्याललाई कार्यवाहक सभापति तोकिएको व्यहोरा आजको सचिवालयको बैठकमा जानकारी गराइएको थियो।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार सभापति लामिछानेको अनुपस्थितिमा सम्पूर्ण पार्टी पंक्तिलाई देश निर्माण गर्ने महाअभियानमा सशक्त राख्न कार्यवाहक सभापतिको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न अर्याललाई दिइएको छ।

कमेन्ट गर्नुहोस्
Share: