पोखरा महानगरले रोक्यो जनप्रतिनिधिका छोराछोरीलाई एमबिबिएस पढ्न छात्रवृत्ति दिने निर्णय

Share:

पोखरा। पोखरा महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीका एमबिबिएस पढ्ने छोराछोरीलाई छात्रवृत्ति उपलब्ध गराउने विवादास्पद निर्णय रोकेको छ। निर्णयको चौतर्फी आलोचना भएपछि सोमबार निर्णय स्थगित गरिएको महानगरले जानकारी दिएको थियो।

महानगरको छात्रवृत्ति समितिको पुस २ गते बसेको बैठकले छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको थियो। यो सुविधा शहिदका छोराछोरीलाई मात्र उपलब्ध थियो।

महानगरले जनआन्दोलनका सहिदका छोराछोरीलाई प्रतिव्यक्ति बर्सेनि १० लाख रुपैयाँ प्रदान गर्दै आएको थियो। सहिद भीमसेन दाहालका छोराले यो सुविधा तीन वर्षसम्म पाउँदै ३० लाख लिइसकेका छन्। यस वर्ष उनलाई अन्तिम पटक १० लाख उपलब्ध गराउने तयारी गरिएको छ।

महानगरको निर्णयलाई जनप्रतिनिधि र स्थानीय सरोकारवालाहरुले असमानताको आरोप लगाउँदै आलोचना गरेका थिए। निर्णयले समाजमा असमानताको भावना जन्माउन सक्ने भन्दै आलोचना भइरहेको थियो। जनप्रतिनिधि र सरोकारवालाले निर्णय पुनर्विचार गरी सबैका लागि समान अवसर दिन आग्रह गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: