पोखरामा माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरु

Share:

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा बिहीबारदेखि पोखरामा २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरु भएको छ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारी र प्रतियोगिता संयोजक नविन चालिसेलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे।

उक्त अवसरमा मन्त्री थापाले पोखरामा टेनिस खेलले महत्वपूर्ण उपलब्धिहरु हाँसिल गरेको भन्दै यो खेलको विकासका लागि मन्त्रालयको तर्फबाट सक्दो सहयोग उपलब्ध गराउने बताए।

मन्त्रालयले यसअघि ५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको बताउँदै थप ५ लाख रुपैयाँ सहयोग गर्ने उनको भनाई थियो। खेलाडी राष्ट्रका गहना भएकाले राष्ट्रले खेलाडीको सम्मान गर्नुपर्ने मन्त्री थापाले बताए।

सो अवसरमा बोल्दै खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्माले खेलाडीको सम्मानका लागि राष्ट्रले खेल क्षेत्रमा राम्रो बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए।

नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले यो प्रतियोगिता नेपालमा सञ्चालित विभिन्न प्रतियोगिताहरुमध्ये लामो समयसम्म निरन्तर आयोजित प्रतियोगिता मध्य एक भएको बताउँदै यसले आगामी दिनहरुमा निरन्तरता पाउनुपर्नेमा जोड दिए।

संघका अध्यक्ष राजकुमार गुरुङ्गले प्रतियोगिता आयोजनामा सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि सहयोगीहरुबाट संघले यस्तै अपेक्षा राखेको बताए।

आयोजक संघका उपाध्यक्ष नविन चालिसेले पोखरामा टेनिस खेलको विकासमा निजी क्षेत्रबाट उल्लेख्य सहयोग प्राप्त भएको बताउँदै यो खेललाई अगाडी बढाउन अब सरकारी सहयोगको पनि खाँचो रहेको औँल्याए।

कमेन्ट गर्नुहोस्
Share: