त्रिवेणी इन्टरनेशनल कलेजमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

Share:

पोखरा। पोखरा महानगरपालिका वडा नं २७ स्थित त्रिवेणी इन्टरनेशनल कलेजको विद्यार्थी कल्याणकारी समितिले बीबीएस प्रथम बर्षका विद्यार्थीलाई शुक्रबार एक कार्यक्रमका बीच स्वागत गरेको छ।
कार्यक्रममा पोखरा-२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले गुणस्तरीय शिक्षा उपलब्ध गराएर विद्यार्थी पलायन रोक्नुपर्नेमा जोड दिए।

विद्यार्थीका लागि बीबीएसको अध्ययन सकिएपछि सम्भावनाका चौतर्फी ढोका खुल्ने उल्लेख गर्दै उनले इन्टर्नपछि रोजगारीका लागि अवसर सिर्जना गर्न आग्रह गरे।

उनले व्यवस्थापन र लेखाको क्षेत्रमा जनशक्तिको अभाव रहेको उल्लेख गरे। उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीका लागि अवसर प्रशस्त रहेको बताए।

क्याम्पस सञ्चालक समिति अध्यक्ष सुमन भट्टराईले कलेजबाट उत्पादित जनशक्तिले राज्यका विभिन्न निकायको प्रतिस्पर्धामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको उल्लेख गरे। अध्यक्ष भट्टराईले गुणस्तरीय शिक्षाले विद्यार्थीको कलेज छाड्ने दरमा नियन्त्रण आउने उल्लेख गरे।

क्याम्पस प्रमुख यदुराज आचार्यले प्रविधिसँग अभ्यस्त बनाई व्यवस्थापन बिषयको अध्यापनका कारण स्नाकोत्तरसम्मको अध्ययनमा विद्यार्थीको उल्लेख्य संख्या रहेको बताए।

कलेजका एकेडेमिक सल्लाहकार प्राडा ईन्द्रप्रसाद तिवारीले विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने गरी जनशक्ति उत्पादनमा जोड दिए। उनले बीबीएसको अध्ययनपछि विद्यार्थी व्यापारदेखि रोजगारका हरेक क्षेत्रमा अब्बल रहन सक्ने बताए।

पत्रकार नवराज सापकोटाले कक्षा १२ पछि विद्यार्थीको विदेशमा अध्ययनको मोह बढेको उल्लेख गर्दै विद्यार्थीलाई नेपालमै आकर्षण गर्न सक्ने समय अनुसारको पाठ्यक्रम र एकेडेमिक कोर्ष राख्नुपर्नेमा जोड दिए।

विद्यार्थी कल्याणकारी समिति अध्यक्ष सुदीपमोहन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नवआगन्तुक विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। कलेजमा बीबीएसतर्फ पहिलो बर्ष एकसय ५० भन्दा बढी विद्यार्थी भर्ना भएका छन्।

कमेन्ट गर्नुहोस्
Share: