हिउँले ढाकिए देशभरका हिमाली जिल्ला, अत्यधिक चिसोले जनजीवन कष्टकर

Share:

काठमाडौँ । देशभरका हिमाली जिल्लाहरूमा हिमपात भइरहेको छ। विशेष गरी कर्णाली प्रदेशका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटमा शुक्रबार रातिदेखि नै हिउँ परिरहेको हो।

हिमपातका कारण देशभर अत्यधिक चिसो बढेपछि जनजीवन कष्टकर भएको छ। हालसम्म हुम्लामा तेस्रो पटक हिमपात भएको जनाइएको छ। हुम्लाको सिमकोटलगायत उत्तरी क्षेत्रमा अत्यधिक हिउँ परेको छ।

यस्तै, मुगुको पर्यटकीय स्थल रारा ताल पनि हिउँले ढाकिएको छ। यस्तै, अन्य प्रदेशका अन्य हिमाली जिल्लामा पनि गएरातिदेखि आकाश बादलले ढाकिरहेको जल तथा मौसम विभागले जनाएको छ।

हाल हुम्ला सिमिकोटको तापक्रम माइनस ८ डिग्री सेल्सियसमा झरेको छ। यस्तै, सुर्खेतको तापक्रम १५ डिग्री सेल्सियस छ, भने जुम्लाको ३ डिग्री सेल्सियस छ।

बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयले बताएका छन्। हिमपात हुँदा कोदो, चिनु, फापरलगायत हिउँदे बाली सप्रिने आशामा हिमाली जिल्लाका किसानले गरेका छन्।

चिसो बढेसँगै सरकारी तथा गैरसरकारी कार्यालयबाट सेवा लिन समेत समस्या भइरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: