
पोखरा । तमु (गुरुङ) समुदायले सोमबार नयाँ वर्षलाई स्वागत गर्दै तमु ल्होसार धुमधामका साथ मनाइरहेका छन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।
यसैले ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरुपमा वर्षेनी मनाउने गर्छन्। गुरुङ समुदायले आइतबार मध्य रातिदेखि मुप्री ल्होलाई बिदाइ र सप्री ल्होको स्वागत गर्दै हर्षोत्लाससाथ नयाँ वर्ष मनाएका हुन्। १२ राशिजस्तै १२ पशुपंक्षीको नाममा १२ वर्ग विभाजन गरिएको हुन्छ। यसपालि गिद्ध वर्गको बिदाइ गरी सर्प वर्गलाई स्वागत गरिएको हो।
यस दिन गुरुङ समुदायका परिवार, आफन्त, साथीभाइ तथा इष्टमित्रबीच जमघट गरी मौलिक खानाका परिकार खाने र एकापसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षका रूपमा मनाउने गर्छन्।
ल्होसार पर्वको अवसरमा पोखरामा गुरुङ समुदायले चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार हुँदै तुम धिं नेपालको केन्द्रीय कार्यालयसम्म मौलिक भेषभूषासहितको र्याली निकाले। तमु धिं नेपालको आयोजनामा यो र्याली निकालेका हुन्।
र्यालीमा गुरुङ संस्कृति र परम्परा झल्काउने झाँकीहरु समेत देखाइएको थियो। गुरुङ समुदायमा आदिमकालदेखि प्रचलित चुट्का, कौडा, सोरठी नाचसँगै खैजडी, च्याबुङ तथा मादलको धुन गुञ्जाए। यस अवसरमा नेवारी, तामाङलगायत समुदायले पनि साथ दिदै र्यालीमा सहभागिता जनाएका थिए।
‘ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किंवदन्ती छ।
यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ। पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताइन्छ। तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ।




