
पोखरा । कास्की पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा वेदराज केसीले आइतबार विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणसँगै आयोजित स्वागत कार्यक्रममा उनले विश्वविद्यालयको समृद्धि, सुधार, र भावी योजनाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै उच्च शिक्षालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने प्रतिवद्धता व्यक्त गरे।
समारोहलाई सम्बोधन गर्दै उपकुलपतिले विश्वविद्यालयको स्थापना कालदेखि हालसम्म योगदान पुर्याउने अग्रजहरूप्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा सहकार्य र सकारात्मक परिवर्तनमार्फत विश्वविद्यालयलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता प्रकट गरे । उनले संघीय कानुनअनुसार पोखरा विश्वविद्यालयलाई राष्ट्रिय विश्वविद्यालयको रूपमा स्थापित गर्न पहल गरिने र उच्च शिक्षाको गुणस्तर सुधारका लागि पाठ्यक्रम परिमार्जन तथा परीक्षा प्रणालीमा सुधारमा विशेष ध्यान दिने बताए ।
उनले कुलपतिसँग सपथ ग्रहण गर्दा पोखरा विश्वविद्यालयमा सकारात्मक परिवर्तन गर्ने दृढ संकल्पका साथ आएको स्मरण गराउँदै विधिवत् रूपमा विश्वविद्यालय सञ्चालन गर्न सबै सरोकारवालाको साथ र सहकार्य आवश्यक रहेको औंल्याए।
कार्यक्रमको सञ्चालन सह-प्रशासक तारादेवी सापकोटाले गरिन्। प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले गत हप्ता प्राडा वेदराज केसीलाई उपकुलपतिका रूपमा नियुक्त गरेका थिए। स्वागत समारोहले विश्वविद्यालयको उज्ज्वल भविष्य निर्माणका लागि सबै सरोकारवालालाई सहकार्य र प्रतिबद्धतामा जोड्न प्रेरणा दिएको छ।
