
पोखरा । मानव एवं समस्त प्राणीजगतको कल्याणको हेतुले पोखरामा विश्व शान्ति तथा आध्यात्मिक पूजापाठ कार्यक्रम हुने भएको छ।
बोधि श्रबण धर्म संघ नेपालको आयोजनामा गर्न लागिएको कार्यक्रम यही पुष २४ देखि २६ गतेसम्म पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ।
तीन दिनसम्म चल्ने पुजापाठ कार्यक्रममा मनुष्य, समस्त पशुपंक्षी, वनस्पति हित एवं अकाल मृत्युबरण गरी मोक्ष प्राप्त गर्न नसकेको आत्माहरुको मोक्षको कामना गरिने जनाइएको छ।
कार्यक्रममा विश्वका विभिन्न ६० मुलुक तथा नेपालका विभिन्न जिल्लाका बोधि धर्मका अनुयायी, भक्तजन गरी करिब २५ हजार जनाको सहभागिता रहने अनुमान संघले गरेको छ।
त्यस अवसरमा सन्यासी गुरुमार्ग, महात्मा तथा गुरुआमाहरुले कार्यक्रम अवधिभर विश्व शान्ति तथा मानव र समस्त प्राणिजगतको कल्याणको लागि पूजा तथा प्रार्थना गर्नेछन्।
संघले हरेक वर्ष आध्यामिक पूजापाठ तथा समाज कल्याणका क्षेत्रमा देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरुसमेत गर्दै आएको छ।
३५ हजार वर्षपछि विशेष विधिबाट प्राण प्रतिष्ठा गरी बोधि धर्मलाई पूर्नजीवित गराइएको भन्दै आगामी मंगलबारबाट शुरुहुने कार्यक्रमको सबै तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ।
