
रञ्जन अधिकारी पोखरा, ४ साउन / संविधानसभामा पेश गरिने संविधान मस्यौदामाथिको छलफल अहिले जनतामाझ छ । नागरिकमाझ पुगेर सुझाव संकलनको क्रम जारी रहेको छ । सुझाव संकलनका लागि सभासदहरू गाऊँगाऊँमा पुगेका छन् । तर, नागरिकहरुले मस्यौदा समेत हेर्न नपाएको गुनासो पनि उत्तिकै छ । सुझाव संकलन गर्ने क्रममा विशेषगरी तराई मधेशमा अवरोध भएपनि धेरै ठाउामा उत्साहजनक देखिएको छ । अवरोध नभएको जिल्लाहरुमा नागरिकहरुले सक्रिय सहभागिता जनाएका छन् । संसद सचिवालयका अनुसार तराईका जिल्लामा केही ठाउँमा अवरोध देखिएपनि २ सयभन्दा बढी निर्वाचन क्षेत्रमा उत्साहजनक सहभागिता छ । जनताको सुझाव संकलन गरेर सुझावसहित मस्यौदा संविधानसभामा पेश गरिने छ ।
पोखरामा सोमबार कास्कीका सबै सभासद्का साथै स्वास्थ्यमन्त्री खगराज अधिकारीको उपस्थितिमा सुझाव संकलन भयो । कास्कीका चार वटै निर्वाचन क्षेत्रमा अवरोधकाबीच मस्यौदामाथि सुझाव संकलनको काम मंगलबार हुँदैछ । नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले पोखरा सभागृहमा आयोजना गरेको संविधानको मस्यौदा माथिका सुझाव संकलन कार्यक्रममा सुझावदाताले निर्माणाधीन संविधान नेपाली जनताको भावना समेटिएको हुनुपर्ने सुझाव दिएका छन् । कार्यक्रममा सभासद्हरु रविन्द्र अधिकारी, जीवन परियार, यज्ञबहादुर थापा, शारदा पौडेल, वृन्दा राना मगर, सीता गिरी ओली, चुडामणि जंगली बिक, तेजकुमारी पौडेल, कुमार खड्का सहभागी थिए ।
कडा सुरक्षा बीच खचाखच भरिएको सभागृह हलमा लिखित तथा मौखिक सुझाव दिँदै विभिन्न राजनीतिक दल, संघससंस्थाका प्रतिनिधि, आदिवासी जनजाति, दलित, अपांगता भएका व्यक्तिहरु, महिला, मुस्लिम समुदायका नागरिकले नेपाली जनताले पटकपटक संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने तवरबाट आफ्ना अधिकार सुनिश्चित भएको संविधान निर्माण गरिनुपर्नेमा जोड दिए ।
उनीहरुले नेपालको भौगोलिक अवस्थिति समेतका आधारमा बढीमा पाँच प्रदेश कायम हुने गरी उत्तर दक्षिण हुने गरी संघीयाता कायम गर्नुपर्नेमा सुझाव दिए । राप्रपा नेपाल लगायतका केहि दल बाहेक सबै ठुला दलहरुले धार्मिक रुपमा स्वतन्त्र रहने पक्षमा निर्णय गरेपनि काँग्रेस र एमालेले जितेको कास्की जिल्लाबासीहरुले अब बन्ने नयाँ संविधानमा सके हिन्दू राष्ट्र कायम राख्नुपर्ने नत्र धार्मिक स्वतन्त्रता उल्लेख हुनुपर्ने माग गरे । ८० प्रतिशतभन्दा बढी हिन्दू धर्मावलम्बी भएको मुलुकलाई धर्मनिरपेक्ष भन्न नमिल्ने भन्दै उनीहरुले गाईलाई नै राष्ट्रिय जनावर घोषणा गर्न माग गरे । राप्रपा नेपाल कास्कीका अध्यक्ष जयलाल पुनले यही विषय उठान गरे । उनले सानो क्षेत्रफलको देशलाई संघीयतामा नलैजान जोड दिए ।
सहभागी कोहिले भने कुनै पनि राजनीतिक दलको चुनाव चिह्न राष्ट्रिय जनावर हुन नसक्ने बताउँदै विश्वमा नै दुर्लभ मानिएको नेपालमा मात्र पाइने एक सिंगे गैँडालाई राष्ट्रिय जनावरको मान्यता दिन सुझाव दिए ।
आदिवासी जनजाति संघसंस्थाका वक्ताहरुले भने सीमांकन सहित जातिय पहिचानयुक्त संविधान जारी गर्न माग गरे । तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले पहिचानसहितको संविधानको माग देशभर उठिरहे पनि संविधानको मस्यौदामा पहिचान र सीमाकंनको कुरै नउठेको भन्दै राज्यको सीमाकंन र नामांकन संविधानमा नै हुनुपर्ने र तमुवान प्रदेश बन्नुपर्ने बताईन् ।उनले कम्तिमा १० वर्षका लागि राज्यको स्रोत साधनमा पहुँच पु¥याउन अग्राधिकार दिईनुपर्ने, प्रदेशको मुख्य पदमा जनजाति राख्नुपर्ने सुझाव दिईन् ।
क्षेत्री समाज नेपाल, कास्की अध्यक्ष चन्द्रबहादुर कार्कीले खत्री क्षेत्रीहरुलाई आदिवासी जातिमा सुचिकृत गरिनुपर्ने, उत्तर दक्षिण छुने गरी बढिमा पाँच प्रदेश बन्नुपर्ने, ९९ प्रतिशत भन्दा बढि प्रयोग हुने नेपाली भाषालाई राष्ट्र भाषा र अन्य जातिय तथा क्षेत्रीय भाषा राष्ट्रिय भाषा हुनुपर्ने, धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र कायम गरिनुपर्ने, प्रचलित नेपाली पोशाक नै राष्ट्रिय पोशाक हुनुपर्ने लगायतका सुझाव दिए ।
महिलाका तर्फबाट नेपाल महिला संघ कास्कीकी सभापति कोपिला रानाभाट लगायतले नागरिकतामा आमार बाबुको सट्टामा आमा वा बाबु हुनुपर्ने, महिला भएकै कारण कुनै भेदभाव गरिनेछैन भन्ने लगायतका बुँदाहरु स्पष्टसाथ लेखिनुपर्नेमा जोड दिईन् ।
दलितका तर्फबाट गणेश बराईली, प्रेम परियार लगायतले दलितका हक अधिकारहरु सुनिश्चित गर्न बुँदागत रुपमा सुझाव बुझाए । अपांगता भएका व्यक्तिहरुले साँग सरह नै व्यवहार, राज्यबाट प्रदान गरिने सेवा सुविधामा अग्राधिकार दिन सुझाव दिए । उद्योगी व्यवसायीका तर्फबाट पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले उद्योगमैत्री र निजी क्षेत्रको पक्षमा संविधानमा अधिकारको व्यवस्था गर्न सुझाव दिएका थिए ।
पोखरामा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सुझाव संकलनलाई नौटंकी भनिरहँदा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले भने धेरै अन्यौलपछि बन्न लागेको संविधानमा सबैलाई सहभागी भई सुझाव दिन आग्रह गरे ।
पोखरामा कडा सुरक्षा घेराभित्र संविधानको प्रारम्भिक मस्यौदाको सुझाव संकलन गरियो । नेकपा माओवादी विप्लव समूहका ५० जना कार्यकर्ताहरुले कार्यक्रम सुरु भएको केही बेरमा नै सभाहलमा प्रवेश गरी संविधानको मस्यौदा कब्जा गरि च्यातेर भागेका थिए । माओवादी कार्यकर्ता पूर्ण जीत पुन उभारको नेतृत्वमा सभागृह प्रवेश गरेको माओवादी विप्लव समूहले संविधानको मस्यौदा कब्जा गरि च्यातेको हो । उनीहरुले पश्चगामी संविधान चाहिँदैन, नाटक मञ्चन गर्न पाइदैँन भन्दै कालो झण्डा देखाउँदै नाराबाजी समेत गर्दै मञ्चबाट बाहिरिएका थिए ।
माओवादीका कार्यकता संविधानको मस्यौदा च्यातेर बाहिरिएपछि सभाहलमा कडा सुरक्षा घेरामा सुझाव संकलनको कार्यक्रम सुरु भएको थियो ।
भित्र सभागृह हलमा कार्यक्रम संञ्चालन भइरहेका बेला बाहिर गेटमा भने संघीय समाजवादी पार्टी कास्कीका कार्यकर्ताहरुले झण्डा सहित वर्तमान संविधानको सुझाव संकलनको विरोध गर्दै नाराबाजी गरे । उनीहरुले यो संविधान अन्तरिम संविधान जतिको पनि नभएको, कर्मकाण्डी भन्दै अग्रगामी संविधानकालागि सबै जना जुट्नुपर्ने माग गरेका थिए ।
