गण्डकी विश्वविद्यालयमा कुलपतिको म्याद सकिँदै

Share:

पोखरा । स्वतन्त्र प्राज्ञिक व्यक्ति कुलपति रहने गण्डकी विश्वविद्यालयमा नयाँ कुलपति नियुक्तिका लागि प्रक्रिया सुरु भएको छ।

अहिलेका कुलपति प्राडा गणेशमान गुरुङको कार्यकाल सकिन लागेकाले विश्वविद्यालय ऐन अनुसार नै सिफारिस समिति गठन गरिएको छ। कुलपति गुरुङको कार्यकाल फागुन ३ गते सकिँदैछ।

गण्डकी विश्वविद्यालय ऐन २०७६ को दफा २३ मा कुलपतिसम्बन्धी व्यवस्था गरिएको छ । उक्त दफाको उपदफा ३ मा कुलपति नियुक्तिका लागि सिफारिस गर्न न्यासिक परिषदको अध्यक्षको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिने व्यवस्था छ।

जसमा प्रदेश लोकसेवा आयोगले तोकेको आयोगको सदस्य र न्यासिक परिषदले तोकेको न्यासिक परिषदको सदस्य रहने प्रावधान छ। हाल न्यासिक परिषद् अध्यक्ष प्राडा कैलाशनाथ प्याकुरेल छन्।

छनोट समिति सदस्यमा लोकसेवा आयोगबाट सदस्य कल्पना लम्साल र न्यासिक परिषद्बाट यमुना घले छन्।

समितिको सचिवालय स्थापना भइसकेपछि कार्यविधि बनाएर छिटै नै दरखास्त आह्वान गर्न लागिएको विश्वविद्यालय स्रोतले बताएको छ।

कमेन्ट गर्नुहोस्
Share: