विद्यार्थीको क्षमता प्रस्फुटन गर्न कुमुदिनी होम्सको वृहत् विज्ञान प्रदर्शनी

Share:

पोखरा। पोखरा गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा बुधबार बृहत् बिज्ञान प्रदर्शनी आयोजना गरिएको छ।

कक्षा १ देखि १२ सम्मका विद्यार्थीले आफुले सिकेको सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक रुपले व्यवहारमा उतारेर प्रदर्शनीमा राखेका हुन्।

विद्यालय प्राङ्गणसहित चार रोपनी क्षेत्रफलमा रहेको मैदानमा ६० वटा स्टलमा उनीहरुले बनाएका बिज्ञानसँग सम्बन्धित र ४ वटा सामाजिक विषयवस्तु झल्काउने सामग्रीहरु प्रदर्शनीमा राखिएको छ।

अभिभावकहरु र विद्यार्थीको भिड लागेको थियो। त्यहाँ अवलोकनका लागि गएका अभिभावक र आमन्त्रित पाहुनाहरुलाई विद्यार्थीले आफुले बनाएका बिज्ञान सामग्री र तिनको उपयोगिता, महत्वका बारेमा प्रयोग गरेर देखाउँदै बयान पनि गरेका थिए।

विद्यालय संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनको लागि उनिहरुकै इच्छा अनुसार प्रर्दशनी आयोजना गरिएको बताए।

विद्यार्थीले उनीहरुले पढेको वातावरण, स्वास फेर्ने, पानी तान्ने, रोबोट, डोजर, सोलार सिस्टम, इको इनर्जि, अटोमेटिक फोहोर राख्ने डस्टबिन लगायतका धेरै विषयगत वस्तुहरु बनाए।

पढेको आधारमा उनीहरु सामुहिक र एक्लै पनि प्रदर्शनमा सरिक भएका उनले बताए। उनका अनुसार झण्डै ९ सय विद्यार्थी प्रदर्शनीमा सामेल भए।

‘हामीले १ देखि १२ कक्षासम्मका विद्यार्थीहरुलाई बिज्ञान प्रदर्शनीमा सरिक बनाईरहँदा उनीहरुको इनोभेसनका लागि जाँच गर्ने निर्णायकहरु पनि राखेका छौं। उत्कृष्ट सामग्री बनाउने विद्यार्थीलाई पुरस्कृत गरिनेछ। विद्यालयको शिक्षा फिक्स माइन्डसेटमा चल्दैन भन्ने मेरो बिचार छ। त्यसैले पनि समय अनुसारको परिवर्तन आवश्ष्यक हुन्छ। विद्यालय खुलेको ३८ वर्ष भईसक्यो। निरन्तर यसैको विकासमा लागि रहेका छौं’, अध्यक्ष पालिखेले भने।

कमेन्ट गर्नुहोस्
Share: