
रञ्जन अधिकारी पोखरा, १० साउन / एच एण्ड वि डेभलपमेन्ट बैंक लिमिटेडबाट नाम परिवर्तन गरेर सञ्चालनमा आएको सोसाईटी डेभलपमेन्ट बैंक लिमिटेडले पोखरा शाखा स्थानान्तरण गरेर महेन्द्रपुलबाट सेवा सुरु गरको छ । आफ्ना शाखाहरुलाई आधुनिक रुपमा स्तरोन्नति गर्ने क्रममा कार्यालय स्थानान्तरण गरेको बैंकले जनाएको छ ।
नयाँ कार्यालयको आईतबार उद्घाटन गरियो । सो अवसरमा बोल्दै बैंकका अध्यक्ष शुशिलराज पराजुलीले बैंक तुलनात्मक रुपमा प्रगतितर्फ उन्मुख भएको र निकट भविष्यमै लगानीकर्तालाई प्रतिफल दिन सक्षम रहेको बताए । बैंकको ३० शाखा र एक एक्टेन्शन काउण्टर गरी ३१ स्थानबाट सेवा प्रवाह भएको उनले जनाए । बैंकका ९२ हजार बढि ग्राहक रहेको बताईएको छ । उनले एच एण्ड बी बैंक रहँदाका क्रममा आएका समस्या सबै हल भएकाले ग्राहकहरुले कुनै आशंका मान्नु नपर्ने स्पष्ट पारे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानुकृष्ण अधिकारीले बैंक अब पहिलेका सबै तिता घटनाहरुबाट मुक्त भएको र प्रतिष्ठित बैंक बन्ने लक्ष्यका साथ अघि बढेको जनाए । उनले आगामी दिनमा आधुनिक बैंकिङ सेवा प्रदान गर्दै प्रतिष्पर्धात्मक रुपमा व्यवसायिक सेवा प्रदान गर्ने उद्देश्य रहेकोमा जोड दिए ।
बैंकका नायव महाप्रबन्धक महेश्वर पहारीले महेन्द्रपुल शाखा सहति सबै कार्यालयहरुबाट विभिन्न निक्षेप तथा कर्जा सुविधाका साथ एटीएम, एबीबीएस, मोबाईल बैंकिङ लगायतका सेवाहरु उपलब्ध रहने बताए । काठमाण्डौंको डिल्लीबजारमा मुख्य कार्यालय रहेको एच एण्ड वि डेभलपमेन्ट बैंकको ९ औं साधरणसभाले नाम परिवतन गर्ने प्रस्ताव पारित गर्दै एच एण्ड वि डेभलपमेन्ट बैंक लिमिटेडको नाम सोसाईटी बैंक लिमिटेड बनाउने निर्णय गरे पछि नयाँ नामबाट सेवा सुरु भएको हो ।
बैंकले असार मसान्तसम्म करीब ५ अर्ब ४९ करोड निक्षेप संकलन तथा ४ अर्ब ६७ करोड कर्जा प्रवाह गरेको जनाएको छ । २०७१÷७२ को अपरिस्कृत वित्तिय विवरण अनुसार १४.०२ करोड सञ्चालन मुनाफा गर्न सफल भएको बैंकले जनाएको छ ।
