
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली काँग्रेस, नेकपा एमाले, र नेकपा (माओवादी केन्द्र) बाट देश समृद्ध हुने आशामा बस्ने छुट नरहेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
उनका अनुसार, यी तीन दल र तिनका नेताहरूको नेतृत्वमा मुलुकको विकास सम्भव हुने सोच राख्नु देशलाई विनाशतर्फ धकेल्ने कार्य हुनेछ। करिब साढे तीन दशकदेखि नेपाल काँग्रेस, एमाले, र माओवादीको वरिपरि नै घुमिरहे पनि देशको विकास हुन नसकेको उनको भनाइ छ।
लिङ्देनले राप्रपालाई मात्र एउटा पार्टी नभई देश र धर्म बचाउने अभियानका रूपमा चित्रित गर्दै सबैलाई राष्ट्र निर्माण र संरक्षणको अभियानमा सहभागी हुन आह्वान गरे। साथै, उनले आफ्नो राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको दाबी गर्दै जुनसुकै मन्दिर जान आफू सधैं तयार रहेको उल्लेख गरे।
