
पोखरा। गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन १ सय ३२ दिनपछि माघ २१ अर्थात् सोमबार बस्दै छ । माघ ८ मा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले बैठक डाकेका हुन्। दिउँसो २ बजे सुरु बस्ने बैठकका लागि कार्य व्यवस्था परामर्श समितिको बैठकले आइतबार कार्यसूची पारित गरेको छ।
प्रदेश सभा सचिवालयका सचिव हरिराज पोख्रेलका अनुसार बैठकको सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने छ।
त्यसपछि प्रदेश निमामती ऐन संशोधनका लागि सरकारले जारी गरेको अध्यादेश मुख्यमन्त्रीले सदनमा टेबल गर्नेछन्। अन्तिममा प्रदेश सभा सदस्य विमला गौचनको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक समापन हुनेछ। त्यसपछि अर्को बैठक माघ ३० गतेका लागि डाक्ने निर्णय कार्य व्यवस्था परामर्श समितिले गरेको छ।
प्रदेश सभाको बर्खे अधिवेशन असोज ८ गते अन्त्य भएको थियो। प्रदेश सभाका विषयगत समितिमा ३ वटा विधेयक विचाराधीन छन्। गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक, जिवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतर सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिमा छन्।
संसद आह्वान भएपछि प्रदेश सरकारले सदनमा १ अध्यादेश र १ विधेयक दर्ता गराएको छ। लोक सेवा आयोगको सुझावसमेत नमानेर करारमा कर्मचारी राख्न ल्याएको गण्डकी प्रदेश निजामती सेवा ऐन संशोधन अध्यादेशसमेत प्रदेश सभा सचिवालयमा दर्ता भएको छ।
यसअघि उद्योग तथा पर्यटन मन्त्रालयले ‘गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ माघ १५ मा दर्ता गराएको प्रदेश सभाका उपसचिव प्रेम सुवेदीले जानकारी दिए।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिउँदे अधिवेशनमा कम्तीमा १० वटा विधेयक पारित गर्ने गरी सरकारले तयारी गरेको बताउँदै आएका छन्। हिउँदे अधिवेशनमा सरकारले गाँजा खेती, भवन मापदण्ड, मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउने, विद्युत, चलचित्र सम्बन्धी, जनस्वास्थ्य विधेयक, खानी तथा खनिजजन्य विधेयक, अपांगतासम्बन्धी विधेयक सदनमा लैजाने तयारी गरेको छ।
