
भोजपुर — जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरी महिलालाई कुखुरा वितरण गरेको छ।
गाउँपालिकाले गर्भवती तथा सुत्केरी महिलाको पोषणलाई ध्यानमा राख्दै प्रत्येकलाई एक भाले र दुई पोथी कुखुरा वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए। वितरित कुखुराबाट उनीहरूले अण्डा तथा मासु उपभोग गर्न सक्नेछन्।
गाउँपालिकाले सुत्केरी, गर्भवती, र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले यो कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए।
गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार यो कार्यक्रमअन्तर्गत वर्षमा एकपटक कुखुरा वितरण गरिन्छ। साथै, वितरण गरिएका पोथी कुखुरा लाभग्राहीहरूले दुई वर्षसम्म पाल्नुपर्ने नियम छ।
स्वास्थ्य संस्थामा नियमित जाँच गराउने गर्भवती महिलालाई अतिरिक्त पोषण सहायता स्वरूप एक क्यारेट अण्डा पनि प्रदान गरिन्छ। यसै कार्यक्रमअन्तर्गत सोमबार पौवादुङमा पाँच सानोदुम्माका १२ जना गर्भवती तथा सुत्केरीलाई एक-एक भाले र अण्डा दिने दुईवटा पोथी कुखुरा वितरण गरिएको छ।
