अध्यादेश देश लुट्न ल्याइएको हो: अध्यक्ष नेपाल

Share:

पोखरा। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २ ठूला पार्टी मिलेर मनपरी गर्छौ भन्ठानेको भए त्यो सम्भव नहुने बताएका छन्। उनले ६ अध्यादेशमार्फत ३० वटा कानुनको संसोधन गर्न खोजेर सरकारले देश लुट्न खोजेको आरोप पनि लगाए।

पार्टीको गण्डकी प्रदेशको प्रथम अधिवेशनको शनिवार पोखरामा उद्घाटन गर्दै पूर्व-प्रधानमन्त्रीसमेत रहेका नेपालले अध्यादेश देशलाई लुट्न, बिचौलियालाई फाइदा पुराउन, भ्रस्टचारलाई प्रोत्सहान गर्न ल्याएको बताए।

‘यी अध्यादेश जनताको हितका लागि ल्याएको होइन’, नेपालले भने, ‘साच्चै त्यसको आवस्यकता थियो भने पहिल्यै किन ल्याइएन। संसदको अधिवेशन किन छल्न खोजियो।’

संसदको अधिवेशन बोलाउनु पर्नेमा रातारात अध्यादेश ल्याउनुपर्ने के आवस्यकता थियो भन्दै नेपालले सरकार गठनमा रातारात यही प्रक्रिया अपनाइएको दाबी गरे।

सरकार गठनका बेला संविधान संसोधन गर्ने भनिए पनि २०८७ मा संविधान संसोधन हुन्छ भनेर प्रधानमन्त्री केपी ओलीको पछिल्लो वक्तव्यले संविधान संसोधन गर्ने उद्देश्य नरहेको स्पष्ट पारेको नेपालले बताए।

मध्यरातमा सम्झौता गरेर सरकार कुन उद्देश्यले गठन गरिएको भन्ने प्रश्न गर्दै उनले सत्तासीन पार्टीमा निराशा छाएको तर कोही पनि बोल्न भने नसकेको र यस विषयमा आफुहरु बोल्नुपरेको बताए।

कसैकसैले पार्टीले बिद्रोहको औचित्य पुष्टी गर्न सकेन भन्ने गरेको सुनिएको पनि उनले बताए। ‘भीम रावललाई कारवाही गरेर पार्टीबाट निकालेपछि पुष्टी भएन ?

पार्टीमा आउन ठिक्क परेका बामदेव गौतमलाई अलमलाएर, मन नपरेका मान्छेलाई कारवाही गरेको घटनाले बिद्रोहको पुष्टी भएन’, नेपालले भने।

‘आफ्नालाई इन अरुलाई आउट गर्दा चित्त बुझेन।’ पार्टी माओवादी र एमालेमा एकता हुदैछ भन्नेको पछाडि नलाग्न भन्दै आफ्नै पार्टी बनाएर अघि बढ्न उनले नेता कार्यकर्तालाई निर्देशन दिए। विचार मिल्ने पार्टीसँग सहकार्य भने हुनसक्ने उनको भनाई थियो।

ब्रेक थ्रु भन्ने के हो ?

यो ब्रेक थ्रु भनेको के हो, प्रत्येक ५५ पाइलामा शिलान्यासको शिलालेख राखे भइहाल्यो नी भन्दै उनले प्रधानमन्त्री ओलीप्रति कटाक्ष गरे।

‘आज शिलन्यास गरियो,भोली एउटा शिलालेख लेखियो त्यो के भन्दा ब्रेकथ्रुका लागि, आज ढुंगा फोरियो, पन्छाइयो ब्रेकथ्रु गरियो, के हो यो ब्रेक थ्रु भनेको’, नेपालले भने, ‘केपी जीले एउटा स्वीच अठाएर सबै स्थानीय तहमा अस्पतालको शिलन्यास गरेर तमासा देखाउनुभयो।’ आवस्यकता नभएको र प्रतिफल नदिने ठाउँमा काम गरेको तर गर्नैपर्ने काम भने सरकारले गर्न नसकेको उनले बताए।

पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले आफुहरु संसदमा थोरै संख्यामा रहे पनि सरकारका गलत कामको भण्डाफोर गर्ने हैसियतमा रहेको बताए। उनले सत्ताधारी पार्टीका नेता कार्यकर्तालाई एकैदिन पक्राउ, बयान, बहस, धरौटी र रिहा गर्ने काम गरेको सरकरले कसैलाई भने विभिन्न जिल्ला घुमाएर पक्षपात व्यवहार गरेको बताए।

पार्टीका महासचिव घनश्या भुसालले वर्तमान सरकार देशमा राम्रो काम गर्न नभई आफ्ना पार्टीका भ्रष्टलाई जोगाउन मात्र गठन भएको बताए।

दुई ठूला फटाहा दल एकै ठाउँमा उभिएका र संविधान संशोधनमा हात हाल्न खोजेमा उनीहरुको उठिबास हुने दावी उनको थियो। अधिवेशनलाई पार्टीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले अहिले सम्बोधन गरिरहेका छन्।

प्रदेश अध्यक्ष श्रीनाथ बरालको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन सत्रमा विभिन्न दलका प्रतिनिधिले शुभकामना दिएका थिए। भोली आइतबारसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

कमेन्ट गर्नुहोस्
Share: