सरकारले जोस् जाँगरकासाथ काम गरिरहेको मुख्यमन्त्री पाण्डेको दाबी

Share:

पोखरा । सरकार सिमित स्रोत र साधनको परिचालन गरेर जनताको पक्षमा काम गर्न पुरा जोस् जाँगरकासाथ लागि परेको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताएका छन्। प्रदेश सभाको शुक्रबारको बैठकमा विपक्षी दलका नेताले सरकारमा केही गर्ने जाँगर नदेखिएको बताएपछि जवाफमा मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन्।

हाल अति निराशा र अति उत्तेजित हुनुपर्ने आवस्यकता नरहेको उनको भनाइ थियो। उनले संविधानमा जे कल्पना गरेर संघीयता ल्यायौ त्यो अनुसार कानुन निर्माण नभएका कारणले गर्न नसकेको कतिपय कुराहरु, देशको आर्थिक परिस्थितिका कारणले चाहेजति हुन नसकेका कामहरु कसैसँग नछिपेको उनले बताए।

‘हाम्रा साधन र स्रोत सिमिति छन्। हाम्रा आवस्यतका र चाहना आसिमित छन्’ मूख्यमन्त्रीले भने, ‘यही दुवै बीचमा तालमेल गर्ने कुरा त्यति सहज छैन। तथापी सरकारले आफ्नो काम पुरा जाँगरका साथमा गरिरहेको छ।’

फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार भन्ने गीत सुनाउँदै पाण्डेले अल्छीले सबैलाई अल्छी देख्ने, जाँगरिलोले सबैलाई जागरिलो देख्ने बताए।

‘जो मेहनत गर्छ, अरुले पनि मेहनत गरेको छ होला भन्ने सोच्छ र जो सुतेर बसेको छ सबैजना सुतेकै होलान भन्ने ठान्छ’, उनले भने, ‘त्यसकारण हामीले कसरी हेरेका छौ हामीलाई, अरुलाई पनि त्यसरी हेर्ने चलन र मानसिकता छ।’

यो हिउँदे अधिवेशन भएकाले सरकारको प्राथमिकता कानुन बनाउनेमै रहेको उनले बताए । यही अधिवेशनमा ल्याउने गरी विभिन्न ९ वटा बिधेयकलाई क्याविनेटले सैद्धान्तिक स्वीकृति दिइसकेको उनले जनाए।

यस्तै न्यायिक समितिलाई सहज होस भनेर ६३ पालिकामा न्यायिक सहजकर्ता पठाइसकेको, ३९ स्थानीय तहमा मुख्यमन्त्री नवप्रवर्तक कार्यक्रमको बिस्तार गरेको, लामो समयदेखि अन्योलमा रहेको प्रदेशसभा भवन निर्माणको चरणमा अघि बढेको, प्रदेशभित्र गुरुङ र मगर भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याउन बिधेयक अघि बढेको, दलित सशक्तिकरणका लागि आवस्यक कानुन बनाउने चरणमा पुगेको उनको भनाई थियो।

साथै साझा सवालका विषयका छलफल गरी दुई प्रदेश मिलेर गर्न सकिने कुराको लागि लुम्बिनी र गण्डकी प्रदेशबीच बैठक सम्पन्न भएको, बागमती प्रदेशसँग पनि बैठकको तयारीमा रहेको उनले सुनाए।

कमेन्ट गर्नुहोस्
Share: