सीएम स्वीमिङ पुलमा विशेष प्रशिक्षण तथा प्याकेज व्यवस्था

Share:

रञ्जन अधिकारी पोखरा , १४ साउन / ‘सर्वाधिक आनन्द र पर्याप्त व्यायाम हुने पौडी खेलको विकासमा अझै यससँग सम्बन्धित संघसंस्था सक्रिय हुन सकेनन्’– २०५६ सालमा दक्षिण एसियाली गेममा कास्य पदक विजेता समेत रहेका पौडी प्रशिक्षक आनन्द कुवंर भन्छन्– ‘राजधानी केन्द्रित स्कुल कलेजहरुले केहि पौडी प्रतियोगिता आयोजना गर्दै आएपनि अन्य स्थानमा भएकै छैन भनेपनि हुन्छ ।’

पोखरा नदिपुर स्थित सीएम स्वीमिङ पुलमा २०५८ सालदेखि पौडीका पारखीलाई प्रशिक्षण दिँदै आएका कुँवर ओलम्पिकमा विभिन्न विधामा स्पर्धा गरिने स्वीमिङमा यहाँ चासो नभएकोमा भने दुःख मान्छन् । सीएम स्वीमिङ पुलका सञ्चालक लालसिंह गुरुङ पछिल्लो क्रममा स्वीमिङका लागि आउनेहरुको संख्या वृद्धि हुँदै गएकोमा खुशी देखिन्छन् । गर्मी मौसम लागेसँगै पौडी खेल्नेहरुको संख्या बढेको हो । पौडी खेलको विकास तथा विस्तार गरी पोखरा क्षेत्रमा पौडी पारखीहरुको क्रेज बढाउने उद्धेश्यले लामो समयदेखि स्वीमिङ पुल सञ्चालन गर्दै आएको गुरुङले विहीबार पत्रकार भेटघाट कार्यक्रममा बताए ।

बोटविरुवाको चिसो हावासँगै मनोरम वातावरण रहेको सो पुल १२ मिटर चौडाई तथा २५ मिटरको लम्वाईको छ । ४ देखि ११ फिट गहिराईको पुल करीब १० लाख ५० हजार लिटर पानीको क्षमता भएको गुरुङले बताए । बालबालिकाका लागि छुट्टै व्यवस्था पनि छ । ‘बालबालिकालाई एक सय र वयस्कलाई एक सय ५० रुपैंया शुल्क हो’ – गुरुङले भने– ‘शनिबार र सार्वजनिक बिदाको दिनमा एकै दिनमा एक सय देखि एक सय ५० जनाले पौडी खेल्ने गर्दछन् । समयको सीमितता छैन । मन लागेसम्म खेल्न पाईन्छ ।’

उक्त स्वीमिङ पुलले पारिवारिक चार जना सम्मको एक महिनाको प्याकेजमा तीन हजार पाँच सय, तीन महिनाको एक व्यक्तिको लागि छ हजार तथा मासिक दुई हजार पाँच सय शुल्क निर्धारण समेत गरेको छ । एक जनाले पौडी प्रशिक्षण गर्न चाहेमा मासिक चार हजार बुझाउनुपर्नेछ । बिद्यालय तथा संस्थागत रुपमा पौडी खेल्न आउनेहरुलाई समेत विशेष छुट दिने गरेको उनले बताए । ‘यहाँ सुरक्षाका लागि हरपल हामी निगरानी गरिरहेका हुनेछौं । जस्तोसुकै कपडा बन्देज छ । स्वीमिङ कस्टमबाहेक अरु लगाउन बन्देज छ ।’ गुरुङले भने– ‘सुपथ मुल्यमा खाजाको व्यवस्था समेत पुलसँगै छ ।’

प्रशिक्षक कुँवरले ईच्छाशक्ति भएमा तीन महिनाभित्रै प्रतिष्पर्धामा उत्रने सक्ने गरी पौडी खेलाडी बनाउन सकिने दाबी गरे । उनले भने– ‘सामान्य पौडी खेल्नको लागि एक महिनामा आधारभुत तालिम दिन सक्छु तर तीन महिनाको प्रशिक्षण गराउन पाए प्रतिष्प्रर्धामा उत्रिन सक्ने गरी खेलाडी उत्पादन गर्न सक्छु ।’ पौडी सिजनको खेल भएकोले पनि अन्य क्षेत्र भन्दा पोखरामा ७ महिनासम्म पौडी खेल्न सकिने उनले बताए । पौडी खेल्नु स्वास्थ्यका दृष्टिले धेरै राम्रो खेल भएको बताउँदै प्रशिक्षक कुवंरले ढाँड दुख्ने, नशा सम्बन्शी समस्या भएका बिरामी, तौल घटाउन तथा रक्त संचार गराउन समेत मद्धत पुग्ने दाबी गरे । ‘पोखरेलीमा अझै पनि पौडी खेलको महत्वबारे बुझ्न जरुरी देख्छु’–उनले थपे– ‘फेवाताल, फुस्रेखोलामा कति डुबेर मरे भन्ने समाचार आउँछ, यदि पौडी खेल्न जानियो भनेमात्रै पनि जीन्दगी बच्छ ।’

कमेन्ट गर्नुहोस्
Share: