पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या ३४ पुग्यो, ज्यान गुमाएकाको सामुहिक दाहसंस्कार

Share:

पोखरा १५ साउन । कास्कीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३४ पुगेको छ । पहिरो गएको क्षेत्र लुम्लेमा शुक्रवार थप चार शब भेटिएपछि मृतकको संख्या ३४ पुगेको हो । बेपत्ताहरुको खोजीका क्रममा शुक्रवार लुम्ले ६ की ८१ ब्र्षिय शियोधरी देवकोटा पाँच महिनाकी वालिका अञ्जिला शेर्पा, ६८ बर्षिय ईन्द्र प्रसाद देबकोटा र ६२ बर्षिय रुद्र बति देबकोटाको शब फेला परेको प्रहरीले जनाएको छ ।

लुम्ले ६ मा मात्रै पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । लुम्लेमा अझै एक जना वालिका बेपत्ता छिन् । पहिरोमा पुरिएका मध्य पाँच बर्षिय कबिता शेर्पाको अबस्था अझै अज्ञात छ । त्यस्तै पहिरोमा परेर भदौरेतामागीमा बेपत्ता चार जनाको शुक्रवार दिनभर खोजी गरिएपनि फेलापार्न नसकिएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले जानकारी दिए । भदौरेतामागीका ५ बर्षिय विश्व पराजुली, ७ बर्षिय समिर पराजुली, १० बर्षिय मन बहादुर सुनार र १० महिनाका वालक किस्मत सुनारको अबस्था अझै अज्ञात छ ।

लुम्ले र भदौरेतामागीमा गरी अझै ५ बेपत्ता रहेको र उनिहरुको खोजीको लागि तीनवटै सुरक्षा निकायबाट डेढसयको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी राउतले बताए । बुधवार रातिको पहिरोमा पुरिएर भदौरेतामागीमा ५ र ढिकुरपोखरीमा दुई सहित मृतक ३४ जनाको शब आफन्तलाई बुझाईसकिएको प्रहरीले जनाएको छ ।

पहिरोमा परेर घाईते भएका १८ मध्य सात जनाको अबस्था गम्भिर छ । दुई जना उपचार पछि घर फर्किएका छन् । भदौरेतामागीको पहिरोमा परि घाईते भएका मध्य २७ बर्षिय शान्ति पराजुली, २८ बर्षिय बिमला बिक, २९ बर्षिय बिनोद बिक, ३० बर्षिय निरु पराजुली, ६२ बर्षिय तुलसी पराजुलीको अबस्था गम्भिर छ ।

उनिहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भैरहेको छ । सोहि पहिरोमा परेर गम्भिर घाईते भएकी ६ बर्षिय बालिका सबिना पराजुली, ८ बर्षिय नम्रता पराजुली र ५० बर्षिय अञ्जली पराजुलीको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

सामुहिक दाहसंस्कार

लुम्लेमा पहिरोमा पुरिएर मृत्यु भएकाको आज सामुहिक दाहसंस्कार गरिएको छ । आज स्थानिय धोतीखोला र मोदीखोलामा सामुहिक दाहसंस्कार गरिएको हो । लुम्लेमा अहिलेसम्म मृतकको संख्या २७ पुगिसकेको छ । पहिरोमा परेर ज्यान गुमाएकाको शब घटनास्थलमै पोष्टमार्टम गरी आफन्तलाई बुझाईएको थियो । लुम्लेको पहिरोमा परेर बेपत्ता भएकी एक वालिकाको अबस्था अझै अज्ञात छ ।

पहिरोमा परी मृत्यु भएकाहरुको परिवारलाई सरकारले जनही एक लाख रुपैयाँ दिने जनाएको छ । मृतकका परिवारलाई क्रिया खर्चबापत तत्काल ४०/४० हजार रुपैयाँ र बाँकी रकम पछि उपलब्ध गराउने सरकारले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: