
रञ्जन अधिकारी पोखरा, १५ साउन / पोखरा ८ स्थित कुँवरटोल विकास संस्थाले गुरुपूर्णिमाको अवसरमा शुक्रबार पोखराको दोबिल्ला स्थित स्मृति वृक्षबाटिकामा वृक्षारोपण गरेको छ । ‘सफा सुनदर हराभरा, हाम्रो पोखरा’ अभियानका साथ आयोजित वृक्षारोपण कार्यक्रमको पोखरा उपमहानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेलले शुभारम्भ गरे । सो अवसरमा आँप, लिची लगायतका ४४ फलफुलको विरुवा रोपिएको थियो ।
उनले वृक्षारोपणले भुक्षय हुनबाट रोक्ने र नदिले कटान गर्न नपाउने भन्दै यस्ता वातावरणीय संरक्षणको अभियानमा सबै लाग्नुपर्नेमा जोड दिए । टोल विकास संस्थाले गरेको कार्य प्रशंसनीय रहेको र अब रोपण गरिएका विरुवाहरुलाई हुर्काउने दायित्व समेत रहेको भन्दै सजग गराए ।
कार्यक्रममा मानव मिलन नारी जागरण नेपालका अध्यक्ष सावित्री शर्मा र नारी सेवा समिति पोखराका अध्यक्ष सीता बरालले टोलले सुन्दर अभियान संचालन गरेकोमा खुशी व्यक्त गर्दै आफ्नो टोलका साथै पोखरालाई नै सुन्दर र संरक्षण गर्न यसरी नै लाग्नुपर्ने बताए ।
कार्यक्रमको अध्यक्षता समेत गरेका टोलका अध्यक्ष पार्वती पौडेलले खोला नदिका छेउछाउमा वृक्षारोपण गरेमा सबै जोगिने यथार्थता अहिले भोगिरहेको बाढीपहिरोबाट प्रष्ट भएको बताउँदै भिरालो जमिन तथा नटितटमा सबैले वृक्षारोपण गर्नुपर्ने खाँचो औंल्याईन् ।
कार्यक्रममा कुँवर समाज सेवा समितिका संस्थापक अध्यक्ष जुवाहरलाल खाँड, भवानी आमा समूहकी अध्यक्ष श्रीमाया कुँवर, संस्थाका सल्लाहकार जुमप्रसाद गुरुङ, स्मृति वृक्षका कोओर्डिनेटर राधिका कँडेल लगायत टोलबासीको सक्रिय सहभागिता थियो । कार्यक्रमको सञ्चालन सचिव राजकुमार श्रेष्ठले गरेका थिए ।
