
काठमाडौँ । महाशिवरात्रि नजिकिँदै गर्दा हिन्दुहरूको पवित्रस्थल पशुपति मन्दिर क्षेत्रमा यतिबेला नयाँ रङ्ग लगाउन थालिएको छ। हिन्दु धर्मावलम्बीहरूको मुख्य पर्वमध्येको महाशिवरात्रि पशुपतिनाथ क्षेत्रमा विशेष रूपले मनाउने गरिन्छ। 
नेपाल र भारतका हिन्दु धर्मावलम्बीहरूको बाक्लो उपस्थिति रहने शिवरात्रिलाई मध्यनजर गरी यहाँ नयाँ रङ्ग लगाउनुका साथै मर्मत सम्भारको कामहरू भइरहेका छन्।
शनिबार दिउँसो पशुपतिनाथ परिसरमा पुग्दा यस्तै दृश्य देखियो। पशुपति वरपरका मठमन्दिरहरूमा नयाँ रङ्ग पोतिएका छन्, भने दर्शनार्थीहरूको पनि उत्तिकै भिडभाड देखिन्छ।
शिवरात्रिको लागि विभिन्न ठाउँबाट आउने साधु सन्तहरूको पनि आवागमन हुँदै गरेको देख्न सकिन्छ। यो समयमा पशुपतिनाथको मन्दिरमा भारतदेखि भक्जनहरू आउने गर्दछन्।
भक्तजनको सुरक्षा र पशुपति दर्शनलाई व्यवस्थित बनाउनुको साथै आवास, भोजन, लाइटिङ, स्वास्थ्य, वातावरण, सरसफाइ, स्वयंसेवा परिचालन, साधुसन्तको सेवा तथा प्रचार प्रसार, स्वयंमसेवक, सरकारी निकाय, अनुगमनको विशेष व्यवस्था गरिएको हुन्छ।
शिवरात्रीमा श्रद्धालुहरू भगवान शिवको आराधना गर्छन्, भजन गाउँछन्।
पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर क्षेत्र, घाट क्षेत्र, राममन्दिर, मृगस्थलीलगायतको स्थान झिलिमिलि बत्तीले सिँगारिएको छ ।
बत्तीका कारण रातभर पशुपति क्षेत्र जाज्वल्यमान देखिन थालेको छ । विभिन्न स्थानमा नेपालको झन्डा आकारमा बनाइएका बत्तीले भक्तजनलाई थप आकर्षित गरिरहेको छ ।
बत्ती र फूलले सजावट गरिएको पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा गरिएको रङरोगन पनि अन्तिम चरणमा पुगेको छ। रङरोगनले पशुपति क्षेत्र आकर्षक बेनेको छ।








