
पोखरा। कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा तेस्रो संस्करणको अध्यक्ष कप, गण्डकी प्रदेश अन्तरपालिकास्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ।
खेलकुदमा युवाहरुलाई आकर्षित गर्ने र खेलकुदकै माध्यमबाट पालिकालाई चिनाउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको पालिका अध्यक्ष मीनबहादुर गुरुङ बताए।
माछापुच्छ्रे-७, धम्पुसमा फागुन १४ देखि १७ गते सम्म चल्ने पुरुष भलिबल प्रतियोगिताको विजेताले उपाधिसँगै नगद २ लाख र उपविजेताले नगद १ लाख साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ। सेमिफाइनलमा पराजित २ समूहलाई नगद रु ५०/५० हजार रुपैयाँ प्रदान गरिने छ। पुरुष भलिबल खेलमा पालिका बाहिरका जुनसुकै तह वा स्तरका २ जना खेलाडी समावेश गर्न सकिने छ।
यता खुल्ला महिला भलिबल तर्फ विजेतालाई उपाधिसँगै नगद १ लाख र उपविजेतालाई नगद ५० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र दिइने छ। सेमिफाइनलमा पराजित २ समूहलाई नगद २५–२५ हजार रुपैयाँ प्रदान गरिने छ ।महिला भलिबल तर्फ एक समूहमा २ जना सम्म राष्ट्रिय खेलाडी समावेश गराउन पाइनेछ।
पुरुष तथा महिला भलिबल प्रतियोगिताको विधागत तर्फ बेस्ट प्लेयर,कोच, स्पाईकर, मिडल ब्लकर, डिफेन्डर,सर्भरलाई पालिकाको लोगो अंकित खेलकुद पोसाक प्रदान गरिने उपाध्यक्ष सीता अधिकारीले बताइन्।
प्रतियोगितामा सहभागी हुन फागुन १२ गते दिउँसो बजेसम्म टिम दर्ता गर्नुपर्ने गाउँपालिका खेलकुद विकास समिति सदस्य सचिव हुमबहादुर गुरुङले बताए। टिम दर्ता नि:शुल्क छ।
